अर्थ

सिजन धकेलिँदा पर्यटक आगमन सुस्त

पर्यटकीय सिजन धकेलिँदा मुलुकमा पर्यटक आगमन ढिलो हुँदै गएको छ। शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) पर्यटकीय आगमनका दृष्टिले दोस्रो धेरै पर्यटक आउने याम हो। मौसम परिवर्तन, दीर्घकालीन योजनाको कमी र राज्यको अदूरदर्शिताले पर्यटकीय गतिविधि सुस्ताएको र पर्यटनको समय पनि पर सरेको बुझाइ पर्यटन व्यवसायीको छ।

पर्यटकको प्रि–बुकिङले सेप्टेम्बर महिनादेखि मुलुकमा विदेशी पर्यटकको गतिविधि सुरु भइसक्नुपर्ने होटल एसोसिएसनका महासचिव साजन शाक्यले बताए। कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन। बुकिङ ढिलो आइरहेको छ’, उनले थपे, ‘अहिलेसम्म मनसुन सकिएकै छैन र पानी–झरी परिरहेको छ। मनसुन नै नसकिएको र मौसम पनि खुला नभएका कारण पनि पर्यटक आउन ढिलो भइरहेको छ।’ धेरै होटलहरूमा सेप्टेम्बर मध्य भइसक्दासमेत खासै बुकिङ भएको छैन। अक्टोबरको लागि भने राम्रै बुकिङ भइरहेको उनले बताए।

‘सेप्टेम्बरमा ४०/५० प्रतिशत मात्र भएको होटलको अकुपेन्सी अक्टोबरमा ७० प्रतिशत पुगेको छ’, उनले भने, ‘सामान्य होटलको तुलनामा तारे होटलहरूको अकुपेन्सी बढ्दै गएको देखिन्छ।’ महासचिव शाक्यका अनुसार कोभिड महामारीपछि होटहरूको संख्या झण्डै दुई गुना बढेको तर पर्यटकको संख्या भने सोहीअनुपातमा नभएका कारण पनि पछिल्लो समय होटलहरूमा पर्यटकको अकुपेन्सीमा कमी देखिएको बताए। यस महिनामा पर्यटकको चलहपहल अपेक्षा अनुरूप नदेखिएको तर अक्टोबर र नोभेम्बरमा भने तीन लाख हाराहारी पर्यटकको चहलपहल बढ्ने अनुमान गरे।

सेप्टेम्बरको मध्य भइसक्दा पनि मुलुकमा विदेशी पर्यटकको चहलपहल त्यति छैन। यतिबेला पर्यटकीय स्थान, होटल, रेष्टुरेन्ट तथा पसलहरूमा पर्यटकको बाक्लो गतिविधि देखिनुपर्नेमा अझै पनि व्यवसायीहरू पर्यटक पर्खिरहेका छन्।

यस्तै ठमेलस्थित काठमाडौं ग्रिल रेष्टुरेन्ट एन्ड वाइन बारका प्रबन्ध निर्देशक मुकुन्द पौडेलले सिजन लागि सक्दा पनि विदेशी पर्यटकको चहलपहल सोचेजस्तो नभएको बताए । ‘पहिलेजस्तो व्यापार छैन्, प्रि–बुकिङ एकदमै कम छ’, पौडेलले भने, ‘पछिल्लो समय सिजन पर धकेलिइरहेको छ, पर्यटकीय सिजन छोटिँदै गएको हो कि !’ शरद ऋतु तीन महिनाको भए पनि पहिलेजस्तो तीनै महिना पर्यटकको चहलपहल नहुने तथा डेढ दुई महिना मात्र पर्यटकीय गतिविधि हुँदै आएको उनले बताए।

यसैबीच पर्यटन नीति समयानुकूल नभएको र सरकारको पर्यटन सम्बन्धी कार्यक्रमहरू पनि प्रभावकारी नभएका कारण मुलुकमा पर्यटनको अथाह सम्भावना हुँदासमेत अपेक्षा अनुरूपको फाइदा लिन नसकिएको बुझाइ पर्यटन व्यवसायीको छ। सिजनमा पर्यटकको आगमन कम हुन थालेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। ‘पोखरामा अहिले सिजनमा पनि पर्यटकको आगमन कम भएको हामीले महसुस गरेका छौं।’ निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘फ्लाइट टिकट पनि एकदमै महँगो छ।’ पर्यटन भित्रिने मुख्य सिजनमा पनि पर्यटकको गतिविधि कम हुँदा पर्यटन व्यवसायीहरू चिन्तित भएको बताए।

उनले सरकार र पर्यटनसँग सम्बन्धित निकायले पर्यटन प्रबद्र्धनबारे उत्ति धेरै चासो नदेखाएकाले पनि मुलुकको पर्यटनको अवस्था सिजनमा पनी खस्किँदो भएको बताए। ‘पछिल्लो समयमा सरकारले अन्तर्राष्ट्रिय स्तरमा कतिवटा पर्यटन प्रवद्र्धनको कार्यक्रमहरू गरे ?’, श्रेष्ठले भने, ‘जबसम्म अन्तर्राष्ट्रिय मार्केटिङलाई मुलुकले प्राथमिकता दिँदैन, पर्यटकहरू कसरी नेपाल आउँछन्।’ सरकारले अन्तर्राष्ट्रिय स्तरमा जति धेरै पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू गर्ने र विदेशमा भएका अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रममा ठोस योजना र कार्यक्रमसहित सहभागी हुन्छ त्यसपछि नेपालको पर्यटनले फराकिलो आकार लिने उनको बुझाइ छ।

विश्वमै नेपाल हिमाल आरोहण र उच्च स्थानको पदयात्राका लागि चर्चित छ। त्यसैले नेपालको पर्यटन पनि हिमाल आरोहण र पदयात्राको भरोसामा टिकिरहेको छ। अहिले मनास्लु, अमादब्लम, अन्नपूर्ण हिमाल चढ्न आउने विदेशी पर्यटकको संख्या धेरै हुन्छ। यस्तै अन्नपूर्ण सर्किट, सगरमाथा आधारशिविर, मनास्लु आधारशिविर, मर्दी आधारशिविर, एभरेष्ट गोक्य पदमार्ग, अपर मुस्ताङ पदमार्ग, लाङटाङ–गोसाइँकुण्ड–हेलम्बुलगायतका पदमार्गमा पर्यटकहरू ट्रेकिङ गर्न आउने भएका कारण स्प्रिङ सिजन (वसन्त ऋतु) पछि अटम सिजनमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिने गरेका छन्। 

प्रकाशित: १ आश्विन २०८१ ०७:४४ मंगलबार

#Turism in nepal #Annapurna base camp