अर्थ

महिला उद्यमी महासंघले पहिलो पटक भेट्यो विकास साझेदारलाई, सहकार्यका लागि प्रतिबद्धता

नेपालभर रहेका महिला उद्यमीहरुकाे छाता संगठन महिला उद्यमी महासंघ नेपालले सोमबार विकास साझेदार निकायसँग पहिलो पटक छलफल गरेको छ।  

ललितपुरमा भएको उक्त कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा दातृ निकायबाट हुन सक्ने साथ सहयोगबारे कुराकानी भएको महासंघले उल्लेख गरेको छ।

कार्यक्रममा महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेपालले सबै तहको प्रमुख निर्णय प्रक्रियामा महिला उद्यमीहरूको आवाज सुनिश्चित गराउन लागि परेको बताउँदै त्यसका लागि सबै क्षेत्रको साथसहयोग अपरिहार्य रहेको चर्चा गरिन्।

उनले भनिन्, 'हामी हाम्रा विकास साझेदारहरूको अमूल्य सहयोगप्रति नतमस्तक छौं। हाम्रा लागि यहाँहरुसँगको सहकार्य महत्त्वपूर्ण अवसर हो। हामीले अहिलेसम्म हासिल गरेको प्रगतिलाई अगाडि बढाउन तपाईंको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनमा पनि यो साथ सहयोग निरन्तर जारी रहनेमा हामी ढुक्क छौं।'

आफ्नो कार्यकालमा 'नाइन ई' लाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष ज्ञवालीले आगामी वर्ष ग्रीन इनर्जीमा केन्द्रित रहेर कार्यक्रम गर्ने जानकारी गराइन्। आफ्नो कार्यकालमा १८ वटा शाखा विस्तार हुनु महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले महासंघलाई यो अवस्थामा ल्याउन साथ दिने सबैप्रति आभार व्यक्त गरेकी थिइन्। 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, नेपालका लागि पाकिस्तानी राजदुत अबरार एच हाश्मी, नेपालका लागि बेलायती राजदुत रोब फेन, नेपालका लागि संयुक्त राष्ट्रसंघ महिला प्रतिनिधि प्याट्रिसिया फर्नान्डे-पाचेको, आईएलओका नेपाल निर्देशक नुमान ओज्कान, जीआईजेडकी नेपाल प्रमुख पौलिना क्याम्पोस र आईडीआईका कार्यकारी निर्देशक उमेश गुप्ता लगायत विभिन्न साझेदार सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालका लागि बेलायती राजदूत फेनले नेपालको समग्र विकासका लागि औद्योगिक तथा उद्यमशिलता विकास महत्वपुर्ण रहेको बताउदैँ महिला उद्यमीहरुको विकास तथा दिगोपनाका लागि महासंघको भुमिका महत्वपुर्ण रहेको बताए। राजदूत फेनले आगामी दिनमा पनि महासंघसँग सहकार्य गर्दै अगाडी बढ्न आफूहरू तयार रहेको बताएका थिए।

आफ्नो २१औँ वार्षिक साधारण सभा मनाइरहेको महासंघले अहिलेसम्म ६९ जिल्लामा शाखा विस्तार गरेको छ। करिब ५ हजार ५ सय सदस्य रहेको महासंघले निकट भविष्यमा नै ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष ज्ञवालीको भनाइ छ। 

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि महासंघले उनीहरुका विविध सवाल एवं सरोकारहरु प्रति सशक्त ढंगबाट वकालत गर्दै आईरहेको दाबी महासंघको छ। 

प्रकाशित: ३१ भाद्र २०८१ १९:२८ सोमबार

#Shova_Gyawali #FEWAN