अर्थ

किसानलाई घार वितरण

रसुवा– कृषकहरुको आयआर्जन बढाउनका लागि रसुवाको नौकुण्ड गाउँपालिकाले मौरीपालक कृषकलाई मौरीको घार वितरण गरेको छ।

२० जना कृषकलाई २४ वटा मौरीसहितको र ६ वटा खाली घार वितरण गरिएको हो । स्थानीयको माग र आवश्यकताको आधारमा गाउँपालिकास्थित कृषि शाखाले ७५ प्रतिशत अनुदानमा घार वितरण गरेको हो।

गाउँपालिकामा कफी खेतीको विस्तार भएको र स्थानीय तहबाट नै सेवा उपलब्ध हुने भएपछि कृषकले घारको माग गरेका कृषि शाखा प्रमुख शम्भुप्रसाद राईले बताए । गाउँपालिकामा व्यावसायिक रुपमा मौरीपालन व्यवसाय सञ्चालनका लागि घार वितरणका साथै क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने कृषि शाखा प्रमुख राईले बताए।

कृषकले प्रतिघार दुई हजार सात सय तिरेका छन् । सो गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनका लागि ६३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका मौरीपालक कृषकले क्षेत्र विस्तार गर्दै  लगेका छन् । जिल्लामा आठ सय २० मौरीपालक कृषक छन्।

जिल्लाको कालिका, उत्तरगया, नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकामा स्थानीय तथा उन्नत जातको मौरीको घार गरी दुई हजार पाँच सय ९१ वटा घार रहेको जिल्ला कृषि विकास कार्यालय रसुवाको तथ्यांक छ।

स्थानीय जातको मौरीको एक हजार एक सय ५२  र उन्नत जातको मौरीको एक हजार चार सय ३८ घार रहेको कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक रुपमा १८ क्विन्टल मह उत्पादन हुँदै आएको छ ।  


 

प्रकाशित: २१ चैत्र २०७४ ०१:४५ बुधबार

किसानलाई घार वितरण