अर्थ

महिला उद्यमी महासंघ २२औं वर्षमा प्रवेश, महिला उद्यमीहरुको पुर्नःउत्थानमा सक्रिय रहने वाचा

पलेशा गोवर्धन नगदसहित सम्मानित

नेपाल भरीका उद्यमी महिलाहरुको प्रतिनिधि संस्थाको रुपमा रहेको महिला उद्यमी महांसघ २२औं वर्षमा प्रवेश गरेको छ । अग्रणी महिला उद्यमीहरुको पहलमा २०६० साल आषाढ २७ गते स्थापना भएको यो महासंघका हाल ६९ जिल्लामा ५५ सयभन्दा बढी सदस्यहरु रहेका छन् । महिला उद्यमीहरुको विकास एवं प्रवर्धनका लागि विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको महिला उद्यमी महांसघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि पहल गर्दै आएको छ ।  

बिहीबार वार्षिकोत्सवको अवसर पारेर महासंघले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसर पारेर महासंघले ऐतिहासिक पदक विजेता राष्ट्रिय पारातेक्वान्डो खेलाडी पलेशा गोर्वधनलाई नगद ५० हजार ५ सय ५१ तथा सम्मान पत्रका साथ सम्मान गरेको छ ।  

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले महिला उद्यमीहरुले नेपालको अर्थतन्त्रमा अतुलनीय योगदान गरिरहेको र यसलाई अझै बढावा दिँदै लैजानुपर्ने विश्वास दिलाएका थिए । महिला उद्यमीहरुको हौसला तथा प्रोत्साहनका लागि मन्त्रालय गम्भीर रहेको चर्चा गर्दै मन्त्री सुडीले निकट भविष्यमा यसलाई निष्कर्षमा पुर्याउने गरी काम भइरहेको जानकारी गराए ।  

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरुका हकहित तथा संरक्षणका लागि विभिन्न विषयमा सरोकारवाला निकायहरुसँग पैरवी गरिरहेको जानकारी दिइन् । महिलाहरुको क्षमता अभिवृद्धीका लागि सिपमुलक तालिम प्रदान गरिएको र महिला उद्यमीहरुका उत्पादनहरुको दिगो वजारीकरणका लागि अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्दै आएको उनको भनाइ थियो ।  

अध्यक्ष ज्ञलालीले महिला उद्यमीहरुले आर्थिक मन्दी, विपद् तथा जोखिम पश्चात भोग्नुपरेका समस्या तथा उनीहरुको व्यवसाय केन्द्रित जोखिम न्युनीकरणका लागि महासंघले विभिन्न मन्त्रालय तथा सम्बन्धित सरकारी निकायमा सुझाव पेश गर्ने, भेटेरै ज्ञापनपत्र बुझाउने, साथै महासंघको नेतृत्वमा आफ्नो स्तरबाट महिला उद्यमीहरुको पुर्नःउत्थानमा आफ्नो ध्यान केन्द्रित गरेको बताइन् ।  

महासंघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव कुन्नम पोखरेलले यसवर्ष नेपाल सरकारसगँको पहलमा उद्यमशिलता विकास गर्न आवश्यक नीति निर्माणका लागि महिला उद्यमी महांसघ नेपालसँग साझेदारी गर्नु सकारात्मक रहेको बताइन् । महिला उद्यमीहरुका लागि स्थानीय स्तरमा उद्यमीशलता विकासको लागि विभिन्न कार्यक्रमहरु, कार्यशाला गोष्ठी तथा तालिमको निरन्तर आयोजना गरी क्षमता अभिवृद्धि गर्दै आइरहेको उनको भनाइ थियो । 

देशका ७७ वटै जिल्लामा आफ्नो सघंहरुको विस्तार गर्ने उद्देश्य रहेको चर्चा गर्दै उनले महांसघले यसवर्ष थप ८ जिल्ला बाजुरा, जुम्ला, नवलपुर, नवलपरासी, रसुवा, रौतहट, सर्लाही र हुम्लामा महिला उद्यमी संघ बिस्तार गरेको जानकारी दिइन् । योसँगै हालसम्म ६९ जिल्लामा सघंहरुको स्थापना भएको छ ।  

कार्यक्रममा महासंघका कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।  

प्रकाशित: २७ भाद्र २०८१ १९:०० बिहीबार

#FEWAN #Mahila Udyami