अर्थ

टिकटकका प्रतिनिधि काठमाडौंमा, पूर्ण रुपमा हट्दै प्रतिबन्ध

चीनियाँ एप टिकटकका प्रतिनिधिहरू नेपाल आएका छन्। नेपाल सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि सिंगापुरस्थित कार्यालयबाट तीन जनाको टोली काठमाडौं आएको हो।

बिहीबार टिकटकका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारका शर्तहरूबारे छलफल गरेका छन्। उनीहरूले सरकारले तोकेका शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै प्रतिबद्धता पत्र उपलब्ध गराउन सकिने बताएका छन्।

नेपाल सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। करिब ९ महिना पछि, ६ भदौमा सरकारले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

यद्यपि, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले भने हालसम्म दूरसञ्चार प्राधिकरणलाई औपचारिक रूपमा प्रतिबन्ध हटाउन निर्देशन भने दिएको छैन।

प्रकाशित: २० भाद्र २०८१ १३:५८ बिहीबार

#Tiktok