अर्थ

गैरकानूनी रुपमा धितोपत्र निष्काशन नगर्न आग्रह

काठमाडौं– नेपाल धितोपत्र बोर्डले गैरकानुनी ढंगबाट धितोपत्र सार्वजनिक निष्काशन नगर्न तथा लगानीकर्तालाई भ्रममा नपार्न आग्रह गरेको छ। 

एक सूचनामार्फत ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट कानूनी प्रावधान रहेको भनी बोर्डले सचेत गराएको छ। कतिपय जलविद्युत् कम्पनीले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशन गरेको पाइएको जनाइएको छ। 

धितोपत्रसम्बन्धी प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा नगरी सर्वसाधारणसमक्ष धितोपत्र बिक्री गर्ने कार्य गैरकानुनी भएकाले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गर्न आग्रह गरिएको छ। गैरकानुनी ढंगबाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रमा लगानी गर्दा लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने हुनाले त्यस्ता धितोपत्रमा लगानी नगर्न नगराउन बोर्डले लगानीकर्तालाई सचेत गराएको छ। बोर्डले विगतमा पनि यस्ता गैरकानुनी तवरले धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थालाई रोक लगाएको र लगानीकर्तालाई सतर्क गराइएको स्मरण गराएको छ। 

सामान्य अंकले घट्यो बजार 

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ। सोमबार १५६ कम्पनीको करिब १० लाख ७० हजार कित्ता शेयर करीब रु २० करोड ५९ लाख बराबरको शेयर खरिद बिक्री भएको छ। 

वित्त क्षेत्रको बाहेक अरु समूहको शेयर सोमबार ओरालो लागेको छ। सो समूहको शेयर ३।४७ विन्दुले उकालो लाग्दा बैंकिङ १.९६, होटल १६.५४, विकास बैंक ३.६४, जलविद्युत् ६.२४, बीमा २३.५८, उत्पादन ३३.४८, अन्य ०.६ र माइक्रोफाइनान्स समूहको शेयर ५।२६ विन्दुले ओरालो लागेको हो। रासस

प्रकाशित: १९ चैत्र २०७४ १५:५७ सोमबार

गैरकानूनी रुपमा धितोपत्र निष्काशन नगर्न आग्रह