अर्थ

हवाई दुर्घटना प्रकरण: क्यान र पाइलटबीच आरोप–प्रत्यारोप

मुलुकमा पटक–पटक हवाई दुर्घटना भएर धेरै धनजनको क्षति भए पनि नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) र पाइलटबीच दुर्घटनाको बारेमा आरोप प्रत्यारोप मात्र हुने गरेको छ। दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा प्रमुख सरोकारवाला नै एउटाले अर्कोलाई दोष लगाएर आफू उम्किने प्रयास गर्दै आएका छन्।

केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले हवाई दुर्घटनाको दोष पाइलटलाई थोपरेका थिए। क्यानका महानिर्देशक अधिकारीले दोषबाट पन्छिन गैरजिम्मेवार अभिव्यक्ति दिएको एक बरिष्ठ पाइलटले बताए।  

जहाज दुर्घटनाको सम्पूर्ण दोष पाइलटहरूलाई लगाएर आफू उम्किनका लागि गत वर्ष माघ १ गते यती एयरलाइन्सको दुर्घटना हुदाँ ककपिटमा भएको भ्वाइस रेकर्डर सार्वजनिक गरेको ती पाइलटले बताए। एक पाइलटले भने ‘दोष पाइलटलाई लगायो अनि आफू सर्लक्क उम्कियो।’  

कतिपय अवस्थामा पाइलटको पनि त्रुटि भएका होलान तर सबै दोष पाइलटलाई दिन नमिल्ने ती पाइलटले बताए। ‘पाइलटले त्रुटि कहिल्यै गर्दैनन् भन्ने पनि होइन,’ ती पाइलटले भने, ‘जहाज दुर्घटना खराब मौसम, एयरपोर्ट टावर, जहाज उडाउन लगाउने एयरलाइन्स कम्पनी, जहाज सम्पूर्ण रूपमा चेकजाँच गर्ने प्राविधिक टोलीलगायत कारणले पनि हुन्छ।’

अहिलेसम्म कतिवटा दुर्घटनाहरू प्राविधिक र मानवीय कमजोरीले भए भन्ने मूल कारणमा नगएको उनले बताए। पाइलटले मान्छे मार्छु वा जहाजमै आत्महत्या गर्छु भनेर कोही पनि नजाने ती पाइलटको तर्क छ।  

केही दिनअघि वायुसेवा सञ्चालक संघले अयोजना गरेको हवाई सुरक्षा सम्बन्धी कार्यक्रममा क्यानका महानिर्देशक अधिकारीले हवाई दुर्घटनाहरू पाइलटका कारणले हुने दाबी गरेका थिए। छानबिन समितिको हवाला दिँदै पाइलटको त्रुटिको कारण दुर्घटना हुने गरेको बताएका थिए। पाइलट मात्र दोषी नभई उडान सेफ्टी विभाग, ट्रेनिङ, अपरेसनल भित्र पर्ने एयर ट्राफिक, इन्जिनियर, प्राविधिक विभाग, मौसम विभाग, एयरलाइन्स कम्पनी, पूर्वाधार लगायतका कारण हुने गरेका छन्। महानिर्देशक अधिकारीले अहिलेसम्म भएको हवाई दुर्घटनामा ९८ वटा हवाई दुर्घटनाहरू पाइलटको कमजोरीले भएको बताएका थिए।

क्यान हवाई उड्डयनको नियामक निकाय हो। हवाई दुर्घटनाको जवाफदेही क्यानको पनि हुने पाइलटको तर्क छ।

गत साउन महिनामा १५ दिनभित्र दुई वटा जहाज दुर्घटना भएपछि प्राधिकरणका महानिर्देशक अधिकारी नेतृत्वको चौतर्फी आलोचना भएको थियो। उनको साढे दुई वर्षको कार्यकालमा मात्रै आठ जटा जहाज दुर्घटना भइसकेको छन्। गत महिना सौर्यको जहाज र डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो। अधिकारीको कार्यशैलीप्रति संसद्देखि संसदीय समितिसम्म प्रश्न उठेको थियो।

महानिर्देशक अधिकारी माथि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पनि उनको निलम्बनको माग गरिएको थियो। अधिकारीको क्षमता र गैरजिम्मेवारीपनले पटक पटक हवाई दुर्घटना भइरहेको आरोप लागेको थियो।

हवाई दुर्घटना बादल वा खराब मौसममा छिरेर भएको अधिकारीको दाबी छ। प्राधिकरणका तथ्यांक अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसम्म एक सय नौ दुर्घटना भएका छन्। साना ठूला गरी एक सय नौ वटा जहाज दुर्घटनामा नौ सय ६४ जनाको मृत्यु भइसकेको छ। अधिकारी २०२२ फेब्रुअरीमा प्राधिकरणको महानिर्देशक भएका हुन्।

प्रकाशित: १८ भाद्र २०८१ १०:०९ मंगलबार