अर्थ

तिजको उमंगले नछोएको नेपालगन्जको व्यापार

किनमेलका लागि भारतीय बजार रूपैडिया जान जमुनाह पुगेका नेपाली उपभोक्ता । तस्विरः गणेश/नागरिक

नेपालगन्जका मुख्य व्यापारिक केन्द्र एकलाइनी, सदरलाइन, घरबारी टोल, त्रिभुवन चोक, न्यूरोड, सेतु विक चोकलगायतका क्षेत्रमा अपेक्षाकृत रुपमा उपभोक्ताको भिडभाड छैन । नेपाली हिन्दु नारीको महान् पर्वतिज नजिकिँदै गर्दा पनि भारतसँग सीमा जोडिएको नेपालगन्जमा व्यापार उत्साहजनक देखिँदैन । उता, उही समयमा भारतीय सीमावर्ती बजार रुपैडियामा भने नेपाली उपभोक्ताको थामी नसक्नु घुइँचो छ ।

चाडपर्वलगायत विशेष दिनको प्रतीक्षामा रहने नेपालगन्जका व्यापारीलाई सधै निराशा छाउँछ । यस्ता विशेष दिनमा पनि व्यापारिक रौनक नहुँदा यहाँका व्यापारीलाई कुनै उमङ्ग आउँदैन । नेपालगन्जमा नेपाली उपभोक्ता नरोकिँदा यहाँको व्यापार औसत देखिएको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा दैनिक किनमेलका लागि खुकुलो परिस्थिति सिर्जना हुँदा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया सम्म पुग्छन् । रुपैडियामा आवश्यक सामान तुलनात्मक रुपमा सस्तो पाइने आसमा नेपाली उपभोक्ता जान्छन् । केही सामानबाहेक अरु सामानमा भने नेपालगन्जसँग मिल्दोजुल्दो छ । रुपैडियामा सबै सामान सस्तोमा पाइन्छ भन्ने होइन ।

लत्ताकपडा, गुट्खा, फलफूल, तरकारीहरूको मूल्य भने नेपालगन्जसँग प्रतिस्पर्धा हुँदैन । तर, खाद्यान्न, भाडा वर्तन, स्टेशनरी लगायतका केही सामानसँग भने नेपालगन्जले प्रतिस्पर्धा गर्न सक्छ । यी सामानमा सामान्य मूल्य मात्र नेपालगन्जसँग भिन्नता छ । भारतबाट नेपाल ल्याउँदा लाग्ने भन्सार कर र ढुवानी शुल्क तिर्दा रुपैडिया भन्दा नेपालगन्जमा थोरै महँगो पर्न जाने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकप्रसाद धामीले बताए । ‘पारि (रुपैडिया) बाट आउने सामानमा कडाइ गर्नुपर्छ,’ उनी भन्छन्, ‘सीमा नाकामा एक्स–रे बाट सामान चेकजाँच गर्नुपर्छ ।’ नेपालबाट भारत जाँदा भारतीय सुरक्षाकर्मीले एक्स–रे मेसिनबाट चेकजाँच गर्ने गरेको भन्दै उनले भने, ‘व्यापार मात्र होइन अन्य सुरक्षाका लागि पनि एक्स–रे सञ्चालन गर्नुपर्छ ।’ सीमा क्षेत्रमा सञ्चालन गर्न खरिद भएको एक्स–रे मेसिन हाल बिग्रिएर प्रयोगविहीन अवस्थामा छ ।

नेपाली उपभोक्ताले रुपैडियामा दैनिक करोडौँको कारोबार गर्छन् । यसले नेपालगन्जको व्यवसायीलाई मार त पारेकै छ अर्को कुरा सरकारलाई उपलब्ध हुने राजस्वसमेत गुमेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुसार राजस्व संकलन नै हुन सकेन । दुई अर्ब चार करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरिए पनि एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

सस्तोमा सामान पाइन्छ भन्ने प्रलोभनमा रुपैडिया पुगेका उपभोक्तालाई नेपालगन्जका व्यापारीले पनि ढाड सेक्ने गरेको गुनासो पटक पटक आउँछ । यहाँका केही व्यापारीले भन्सार छलेर क्यारिङ मार्फत सामान ल्याउने र उपभोक्ताबाट चर्को मूल्य लिने गरेको आरोप सर्वत्र छ । नेपालगन्जको महँगी धान्न नसकिँदा रुपैडिया सम्म पुग्ने गरेको सामान किनमेलका लागि रुपैडिया पुगेकी सावित्रा बुढाले बताइन् । ‘रुपैडिया आउनु रहर होइन, बाध्यता हो,’ उनी भन्छिन्, ‘नेपालगन्जमा सुहाउँदा मूल्य लिँदा पनि हामी उतै रोकिन्छौं, यता आउँदैनौं ।’

नेपाली उपभोक्ताले यहाँ दैनिक करोडौं रुपैयाँको कारोबार गर्छन । अहिले यसको दुईदेखि तीन तिहाइ व्यापार रुपैडियामा छ ।

नेपाली उपभोक्तामा सचेतना र नेपालगन्जका व्यापारीको मनलाग्दी मूल्य वृद्धिलाई नियन्त्रण गर्दा केही हदसम्म नेपाली उपभोक्ता नेपालगन्जमा रोकिन सक्छन् ।

प्रकाशित: १२ भाद्र २०८१ १८:१४ बुधबार