अर्थ

नाडा अटो शो: गाडी किन्नेलाई कुन बैंकको कति ब्याजदर ?

काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। उक्त मेलाकाे उद्घाटन अर्थमन्त्री विष्णु पाैडेलले गरेका थिए। मेला ६ दिनसम्म चल्ने बताइएको छ।

मेलामा विभिन्न ब्राण्डका २ पांग्रे तथा ४ पांग्रे सवारीसाधन प्रर्दशन गरिएकाे हाे। जसमा सवारीसाधनका बारेमा जानकारी लिन र किन्न सकिने नाडाले जनाएको छ। नाडाले प्रत्येक बर्ष दसैंको पूर्वसन्ध्यामा गरिने यो मेलामा गाडी किन्ने योजना बनाएका ग्राहकलाई आकर्षित गराउने गर्दछ। जुन अहिलेको मेला नाडा अटो शोको १४ औं संस्करण हो। 

हाल अटो व्यापार सुस्त छ। व्यापारमा महामारी, आर्थिक मन्दी र आयातमा लगाइएको प्रतिबन्धले ठूलो झट्का पुगेको थियो। जसमा पछिल्लो समय अपेक्षित रुपमा गाडीको व्यापार बढ्न नसकेता पनि केही सुधारको संकेत भने देखिएको छ। नाडा अटो शोमा सवारी साधन मात्रै नभएर तिनका पार्टसपूर्जा पनि पाइने नाडाले जनाएको छ।

सुस्ताएको अटो व्यवसायलाई चलायमान बनाउने गरी बैंकहरुले ब्याजदर उपलब्ध गराउने घाेषणा गरेका छन्। बैंकहरुले ग्राहकलाई आकर्षित बनाउन अर्थात तान्न सस्तो ब्याजदरमा सवारी कर्जा दिने अफर समेत ल्याएका छन्। बैंकहरुले सस्तो ब्याजदरमा ऋण दिने र प्रक्रियालाई सजिलो गरिदिने समेत जनाएका छन्।

नाडा अटो शो मा विभिन्न ७ बैंक सहभागी छन्। जसमा माछापुच्छ्रे बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र महालक्ष्मी विकास बैंकले सहभागिता जनाएका छन्। बैंकले सवारी खरिद गर्ने ग्राहकलाई लगानी गर्ने भएकाले कर्जा प्रदान गर्ने छन्।

नाडा अटो शोमा गाडी किन्नेलाई कुन बैंकको कति  ब्याजदर ?

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले नाडा अटो शो लक्षित चारपांग्रे सवारीका लागि ९ प्रतिशत ब्याज अफर गरेको छ। बैंकले आफ्नो ८ प्रतिशतको आधारदरमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो। बैंकको नियमित सवारी कर्जा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर छ।

त्यस्तै बैंकले विद्युतीय सवारीमा ६ बर्षको लागि र  मूल्यको ७० प्रतिशत कर्जा तथा इन्धनको लागि ८ वर्ष अवधिका लागि र मूल्यको ५० प्रतिशत कर्जा प्रदान गर्ने जनाएको छ। अरु बेला ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिइरहेको माछापुच्छ्रेले नाडा अटो शोमा ०.२५ प्रतिशत मात्रै लिने भएको छ।

सानिमा बैंक

सानिमा बैंकले ७ वर्षका लागि ८.४९ प्रतिशतदेखि १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने घाेषणा गरेको छ। सानिमाले ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.४९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ। परिवर्तित ब्याजदरमा भने ८.५५ प्रतिशतको आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराऊने भनेको छ। सानिमाले पनि  ०.२५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ।

नबिल बैंक

यसैगरी नबिल बैंकले नाडा अटो शो मा ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ। यो अफर विद्युतीय र इन्धन दुवैका लागि हुने जनाइएकाे छ। स्थिर ब्याजदरका लागि मात्रै कर्जा स्किम ल्याएको छ। बैंकले सेवा शुल्क भने ०.५ प्रतिशतसम्म लिने बताएको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले नाडा अटो शो मा न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिने भएको छ। विद्युतीय सवारीमा ५ वर्षसम्मका लागि ७.९९ प्रतिशत र त्यसभन्दा बढी अवधिको लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। जसमा इन्धन सवारीका लागि भने बैंकले ५ वर्षका लागि ८.४९ प्रतिशत र सो भन्दामाथि भए ९.४९ प्रतिशत ब्याजदर लिने जनाएको छ। सेवा शुल्क भने बैंकले ०.५ प्रतिशत लिने जनाएको छ। 

लक्ष्मी सनराइज बैंक

यस्तै लक्ष्मी सनराइज बैंकले नाडा अटो शो मा विद्युतीय सवारीलाई ७ वर्ष सम्मका लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै कर्जा दिने जनाएको छ। बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ। त्यस्तै इन्धन सवारीमा ८.२५ प्रतिशतको आधार दरमा १ प्रतिशत प्रिमियम थप गरेर ९.२५ प्रतिशतको ब्याजमा कर्जा दिने घाेषणा गरेकाे छ।

हिमालयन बैंक

हिमालयन बैंकले नाडा अटो शो मा परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बताएकाे छ। बैंकले विद्युतीय सवारीका लागि ८.८३ प्रतिशतको आधारदरमा ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ।

महालक्ष्मी विकास बैंक

यसैगरी, महालक्ष्मी विकास बैंकले नाडा अटो शो मा एकल अंकमै अर्थात ९.९९ प्रतिशतको ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने जनाएको छ। जसमा एकातर्फ बैंकहरुको स्थिर ब्याजदर अर्कोतर्फ व्यवसायीहरुको छुट सुविधाले अटो व्यवसाय गतिशिल हुने अपेक्षा गरिएको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले हरेक वर्ष अटो शो आयोजना गर्दै आएको छ।पछिल्लो समय समग्र बैंकिङ्ग क्षेत्रमै कर्जाको माग न्युन रहेको अवस्था छ। 

ब्याजदर भने हरेक महिना घट्दै गएको देखिन्छ। अन्य क्षेत्रको तुलनामा बैंकहरुले सेयर बजार, घरजग्गा र अटो क्षेत्रमा लगानी बढाउन भने अग्रसर देखिएका छन्। 

जसमा यति बेला विभिन्न अफहरु ल्याएर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन भन्दै बैंकहरु लागि परेका छन्।

प्रकाशित: ११ भाद्र २०८१ २०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App