राजधानी उपत्यकाका सडकमा कुनै बेला महिला चालकलाई देख्दा आश्चर्य मान्ने धेरै व्यक्ति थिए। धेरैलाई थाहा नहुन सक्छ, संसारमै पहिलो सवारी चालक पुरुष होइन महिला हुन् भन्ने।
आजभन्दा दुई सय ८० वर्षअघि नै जर्मनीमा बर्था बेञ्जले पहिलोपटक कार गुडाएकी थिइन्। अहिले नेपालको सडकमा सवारी गुडाउने महिला चालकका निम्ति पनि त्यो गर्वको विषय हो।
अचेल काठमाडौंका गल्लीगल्लीमा महिला चालक प्रशस्त देखिन्छन्। यिनै चालकको भीडमा एउटी हुन्, धनगढीकी शिक्षिका प्रियंका भट्ट। उनले उपत्यकाभित्र स्कुटर चलाउने गरेको करिब दुई वर्ष हुँदैछ। राजधानीका सडकमा आफ्नै साधनमा हुइँकिनु उनका निम्ति निकै रमाइलो छ।
बानेश्वरमा अस्थायी बसोबास गर्ने प्रियंका त्यहाँबाट पाटन ढोकास्थित रातोबगंला स्कुल पुगेर काम सकेपछि घर फर्किन घण्टौं लाग्ने गथ्र्यो। अहिले उनी आफैं स्कुटर चालक हुँदा कार्यस्थल र घर पानी पँधेरो जस्तै भएको अनुभव उनी सुनाउँछिन्।
गन्तव्यमा पुगेर घर फर्किंदा बाटोमै तीन घण्टा लाग्थ्यो, स्कुटर नहुँदा परिवार र साथीभाइसँग सधैं हारगुहार गर्नुथ्र्यो। ‘धनगढीमा स्कुटर त्यति धेरै चलाउँदिनथें, चलाए पनि कहिलेकाहीँ मात्रै,’ उनले भनिन्, ‘काठमाडौं प्रवेश गरेपछि निकै समय सार्वजनिक गाडीमै हिडेँ । गन्तव्यमा पुग्न र घर फर्कन दैनिक तीन घण्टा खर्चनुपर्थ्याे। सधैं पठाओ चढेर निर्वाह पनि नहुने। त्यसैले स्कुटर किन्ने निधो गरेँ ।’ स्कुटर चढेर आफ्नो गन्तव्यमा पुग्न जम्मा ३० मिनट लाग्ने गरेको उनी बताउँछिन्।
उपत्यकाबाहिर सवारी साधन चलाउनुभन्दा धेरै सहज र सभ्य रहेको प्रियंकाको अनुभव छ। उनका अनुसार उपत्यका बाहिर बाटो खाली हुने हुँदा जथाभावी सवारी साधन चलाउने मान्छे धेरै हुन्थे। उनीहरूको मनलाग्दीले गाडी तथा बाइक चलाउँदा धेरै दुर्घटना सामना गर्नुपर्छ। ट्राफिक नियम कसैले पालना गर्दैनन्। हेल्मेट नलगाइ आफ्नो गन्तव्यमा पुगेर आउँछन्। उपत्यकाभित्र भने त्यस्तो नभएर घरबाट निस्कनुभन्दा पहिले आफ्नो सवारी साधनको कागजपत्र छ छैन भनेर हेरेपछि मात्र हिँड्ने गरेको उनको अनुभव छ।
‘म तराईमा हुर्केको मान्छे हुँ। मैले तराईमा विना लाइन्सेन्स स्कुटर धेरै चलाएँ तर काठमाडौंमा आएर स्कुटर चलाउन धेरै गाह्रो भयो। मैले महिनौं स्कुटर चलाउन छोडें। अब त अरूको भर पर्नु हुँदैन भन्ने लाग्यो। आफैंले विस्तारै चलाउनु पर्छ भनेर काठमाडौंको सडकहरूमा दुईचार दिन भाइको सहयताले स्कुटर चलाउन थालें,’ उनले भनिन्। जब कि धनगढीमा एक्लै धेरै टाढासम्म पुगेर सहजै घर फर्किएको अनुभव पनि स्कुटर चालक प्रियंकाको छ। अहिले उनी उपत्यकाभित्र स्कुटर सहजै चलाउन सक्ने भएकी छिन्।‘
बानेश्वरबाट विभिन्न स्थानमा निस्कँदा मेरो स्कुटरको स्पिड भनेको २५ देखि ३५ किलोमिटर प्रतिघन्टा मात्रै हो। त्यो भन्दा कहिले माथि जाँदैन।
ट्राफिक नियमको पालना गर्दा सबैलाई सहज हुन्छ। यहाँ त ट्राफिक नियमभन्दा बाहिर बसेर सवारी चलाए घरमै फोन आउँछ। तपाइले यहाँ नियम मिच्नु भएको छ भनेर फोन आउने गर्छ,’ उनले भनिन्। उपत्यकामा सवारी चलाउनु भनेको संसारको जुनसुकै कुनामा गएर पनि आनन्दले गाडी चलाउन सकिन्छ भन्ने उनको अनुभवले बताउँछ।
उपत्यकामा तीव्र गतिमा चलाइने गाडी तथा बाइकबाट त्रसित हुनु आवश्यक छैन किनभने अहिले त्यसरी चलाउने चालकलाई ट्राफिकले समात्ने गरेको उनी सुनाउँछिन्। उपत्यकाका कतिपय गल्लीहरूमा चाहिँ आफूहरूले विस्तारै स्कुटर चलाएर हिँड्दा पछाडिबाट आएका बाइकहरूले ठूलो आवाजसहित हर्न बजाएर सातो लिने गरेको प्रियंकाको अनुभव छ।
त्यस्तै उपत्यकाभित्रको सडकमा २३ वर्षदेखि गाडी चलाउँदै आएकी पत्रकार बबिता बस्नेत उपत्यकाभित्र सवारी चलाउन निकै कठिन रहेको बताउँछिन्। सुरुका दिनमा गाडी चलाउँदा उनलाई अरू सवारी चालकले अनौठो तरिकाले हेर्ने गरेको उनको अुनभव छ। आजभोलि भने उपत्यकामा गाडी चलाउन सहज हुने गरेको उनले बताइन्।
‘काठमाडौंमा सवारी चलाउन अहिले पहिलाको जस्तो अवस्था छैन्,’ उनले नागरिकसँग भनिन्, ‘अहिले बाटोभरि जताततै ट्राफिक नियम पालना गर्नुपर्छ। यसो गर्दा सबैलाई सहज पनि हुन्छ। कहिले काहीँ बाइकवालाहरू कताबाट आएर एक्कासी स्वाट्ट बाटो काटी दिन्छन्। त्यसले गर्दा अलि गाह्रो हुन्छ ।’ अझै पनि जथाभावी बाटो काट्ने पैदलयात्री भने कम नभएको उनको अनुभव छ।
नेपाल घुम्न आएको साथीलाई आफ्नो गाडीमा राखेर पार्कभिलेजमा खाना खुवाउन लैजाँदा विदेशी साथीले भनेको बबिता सम्झन्छिन्, ‘यस्तो ट्राफिक जाम, भिडभाड पनि उस्तै बबिता तिमीले कसरी गाडी चलाइरहेकी छौ? म त छक्क परें। यस्तो भिडमा यति मजाले गाडी चलाउनु भनेको धेरै राम्रो हो। तिमी त संसारको जुनसुकै ठाउँमा मज्जाले गाडी चलाउन सक्छौ। म त यस्तो ठाउँमा गाडी चलाउन सक्दिन।’
अरूले चलाएको सवारीमाभन्दा आफूले सवारी चलाएर बाटोमा निस्कँदा धेरै आनन्द आउने बबिता बताउँछिन्। ‘सबै महिलाले आफैं सवारी चलाएर हिँडे कसैसँग भरपर्नु पर्दैन। साथै सवारी चलाउनु भनेको महिला सशक्तीकरणसँगै आत्मविश्वास बढ्नु पनि हो,’ उनले भनिन्।
प्रियंका र बबिताजस्तै काठमाडौंको बल्खु बस्ने कानुन व्यवसायी लक्ष्मी पाठक पनि स्कुटर चढ्छिन् । उनी पनि काठमाडौंको गल्लीगल्लीमा स्कुटर लिएर हिँडेको करिब १५ वर्ष भएको छ। बालबच्चा ससानै हुँदा उनलाई काठमाडौंको विभिन्न ठाउँमा बच्चालाई लिएर हिँड्न सास्ती हुन्थ्यो। बालबच्चालाई घरमा छोडेर एक्लै कतै गएका बेला पनि समयमा घर पुग्न नपाउँदा धेरै दुख पाएको उनी सुनाउँछिन्।
आफैं स्कुटर चालक भएपछि समय बचत भएको उनी बताउँछिन्। समय मात्रै होइन, विद्युतीय स्कुटर भएकाले पैसासमेत बचत भएको उनी सुनाउँछिन्। ‘आफूसँग सवारी नहुँदा धेरै दुःख भोग्नुपर्यो,’ उनी भन्छिन्, ‘पठाओ पनि कति चढ्नु? सधैं पठाओ र अरूलाई हेल्प मागेर साध्य हुने कुरै भएन। अहिले आफ्नै सवारी छ। आफू पुग्नुपर्ने हरेक गन्तव्यमा समयमै पुगिन्छ।’
उनका अनुसार उपत्यकाबाहिर ओभरस्पिडमा जति पनि हिँड्न पाइन्छ। काठमाडौंमा त्यो सिस्टम नभएकाले सबै सवारी चालकलाई सजिलो छ। उपत्यका ट्राफिक नियममा बाँधिएको छ। सबैले ट्राफिक नियम पालना गर्नैपर्ने बाध्य छ। जसले गर्दा काठमाडौंमा सवारी चलाउन धेरै सजिलो भएको अनुभव सुनाउँछिन्।
उनी भन्छिन्, ‘महिला सवारी चालकमा अलि आत्मविश्वास नभएको जस्तो लाग्छ। पछाडिबाट आउने बाइकवाला तथा ठूला सवारी चालकले हर्न बजाउँदा कोही कोही तर्सिएर लड्ने गर्छन्। कतिपय महिला ससानो कुरामा डराएर सन्तुलन बिगारिरहेका हुन्छन् ।’
काठमाडौंको सडकहरूमा विना लाइसेन्स चलाउँछु भन्ने आँट कसैमा नहुने उनी सुनाउँछिन्।
‘मलाई खुसी लाग्छ, उपत्यकाभित्र ट्राफिक नियममा पलना गर्दै सवारी चलाउन पाउँदा। चोकचोकमा ट्राफिक हुन्छन्। उनीहरूलाई छलेर सवारी चलाउँछु भन्ने चिताउनै पर्दैन। उपत्यकाबाहिर कागजपत्र विना सवारी चलाइरहेको हुन्छन्, त्यस्तो गर्न काठमाडौंमा सम्भव छैन्,’ लक्ष्मीले नागरिकसँग भनिन्।
दुःखसुख नभई जीवन चल्दैन। सहज तरिकाले जीवन चलाउन आफ्नै सवारीले धेरै साथ दिएको उनी बताउँछिन्। उनका अनुसार महिला उद्यमशीलताको विकासमा आफ्नो साधानले ठूलो भूमिका निर्वाह गरेको छ।
‘महिलाले सवारी लिएर हिँडेपछि पहिले जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिस थिए’, उनी भन्छिन्। अहिले आफ्नै सवारी साधन हुँदा स्वतन्त्रताको अनुभव गरेको उनले बताइन्।
प्रकाशित: ११ भाद्र २०८१ ०७:५९ मंगलबार