अर्थ

समृद्धिका लागि विशेष औद्योगिक क्षेत्र

बारा – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन विशेष औद्योगिक क्षेत्र निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

जितपुर सिमरा उपमहानगरापालिकाको औराहा र डुमरवानामा निर्माण गरिएको विशेष आर्थिक क्षेत्रमा स्थापना हुन लागेको गार्मेन्ट प्रशोधन क्षेत्रको आइतबार शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विशेष औद्योगिक क्षेत्रमा निर्माण हुने उद्योगले रोजगारी वृद्धि गर्ने भएकाले यसले समृद्ध नेपाल बनाउन ठूलो सहयोग गर्ने बताए।विशेष औद्योगिक क्षेत्रमा स्थापना गरिने उद्योगलाई सरकारले मेसिनरी पार्टपूर्जा खरीद गरी ल्याउँदा त्यसमा विशेष किसिमको भन्सार सुविधा दिने घोषणासमेत प्रधानमन्त्रीले गरे।

आठ सय ४३ बिघा क्षेत्रफलमा रहेको विशेष औद्योगिक क्षेत्रअन्तर्गत प्रधानमन्त्रीले शिलन्यास गरेका गार्मेन्ट प्रशोधन क्षेत्र एक सय ६० बिघामा निर्माण गर्न लागिएको बताइएको छ ।गार्मेन्ट प्रशोधन क्षेत्र निर्माण भएपछि यसबाट उत्पादित वस्तु विदेशमा निर्यात गर्न सकिने तथा देशका अन्य भागमा रहेका गार्मेन्ट उद्योगलाई समेत निर्यात गर्दा यसले औद्योगिक उत्पादनमा टेवा पुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताए।

उद्योग सञ्चालनका लागि भाडामा लिने जग्गा र भौतिक पूर्वाधार महँगो भयो भनेर केही उद्योगबाट गुनासो आएकाले त्यसको समाधान गर्न सरकार तयार रहको ओलीले बताए ।
देशबाट गरीबी हटाउन जनता र विकासलाई चाहिने ऐनकानून परिवर्तन गरर भए पनि देशलाई समृद्धितिर डोर्‍याउनुपर्ने समय आएको ओलीले बताए ।नयाँ आठोटका साथ विशेष औद्योगिक क्षेत्रनिर्माणलाई अगाडि बढाइएकोले यसले प्रदेश २ लाई नै समृद्ध बनाउन ठूलो योगदान गर्ने लक्ष्य लिएको ओलीले बताए।  

शिलन्यास गरिएको गार्मेन्ट प्रशोधन क्षेत्र २०७६ सम्ममा निर्माण गर्नेगरी पूर्वाधार निर्मार्णलाई तीव्ररूपमा अगाडि बढाइएको बताए ।विशेष औद्योगिक क्षेत्रका कार्यकारी निर्देशक चन्द्रिकाप्रसाद भट्टले १० अर्ब लगानीमा निर्माण हुने गार्मेन्ट प्रशोधन क्षेत्रमा १० हजारले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको कार्यक्रममा बताए।

वर्तमान सरकारको ‘समृद्ध नेपाल, खुसी नेपाल’ अभियानलाई साकार गर्नसमेत यस क्षेत्रमा निर्माण गरिएको विशेष औद्योगिक क्षेत्रले ठूलो योगदान गर्ने भएकाले यसलाई समयमै निर्माण गर्नुपर्ने भट्टले बताए।

विशेष आर्थिक क्षेत्र स्थापना गरिने उद्योगमा पाँच वर्षसम्म आयकरमा ५० प्रतिशत छुट उत्पादित वस्तुमा लाग्ने मूल्य अभिवृद्धि करमा छुट र उद्योगीलाई उद्योग सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरकार तयार रहेकोले यो क्षेत्र नयाँ औद्योगिक क्षेत्रमा परिणत हुने विश्वास रहेको भट्टले बताए ।

कार्यक्रममा उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रतिनिधिसभा सदस्य किसन श्रेष्ठ, जुली महतो लगायत उपस्थिति थिए।
 

प्रकाशित: १९ चैत्र २०७४ ०१:२२ सोमबार

समृद्धिका लागि विशेष औद्योगिक क्षेत्र