अर्थ

विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन: आयल निगम

नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसूदन बुर्लाकोटीले यस्तो कुराको जानकारी दिएका हुन।

उनले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए । उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको बताए । यद्यपी प्रधानमन्त्रीको निर्देशन अनुरूप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए। उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताए । उहाँले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण सम्भव नभएको बताए। उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरूले तुरुन्त काम अगाडी बढाउने बताए। उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्टाएर राखेको भए पनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको बताए ।उनले आयल निगमलाई तुरुन्त जग्गा उपलब्ध गराउनका लागि नार्कलाई निर्देशन दिन पनि समितिलाई आग्रह गरे । 

प्रकाशित: ९ भाद्र २०८१ २०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App