अर्थ

आयल निगमका कर्मचारीहरूकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको छ: सांसद अग्रहरी

नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरूकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छिन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइप लाइनबाट ल्याउने व्यवस्था गरिए पनि चुहावट गर्नका लागि पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरूकै मिलेमतो रहेको बताएकी हुन ।

उनले चुहावट रोक्नका लागि पाइप लाइनको व्यवस्था गरे पनि निगमका कर्मचारीहरूले चुहावट गर्नका लागि ट्याङ्करमा मगाउन थालेको सूचना पाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिन । उनले ट्याङ्करबाट पेट्रोलियम पदार्थ ल्याउने भए अर्बौँ खर्च गरेर किन पाइपलाइन बनाइयो भनेर प्रश्न समेत गरिन ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले विमानस्थलमा इन्धन भण्डारण गर्दा विमान दुर्घटना भएको अवस्थामा ठुलो क्षति हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भण्डारण सार्ने अवस्था नहुँदा विमानस्थलकै तल्लो तहमा राख्नु उपयुक्त हुने बर्ताए ।

नेपाली कांग्रेसका सांसद रमेश रिजालले विमानस्थल परिसरमा इन्धन भण्डारण गर्नु असुरक्षित रहेको भन्दै सो स्थानबाट छिटोभन्दा छिटो स्थानान्तरण गर्नुपर्ने धारणा राखे ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसूदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई तत्कालै बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए । 

प्रकाशित: ९ भाद्र २०८१ २०:१८ आइतबार

#Industry and Commerce and Labor and Consumer Interest Committee #Nepal Oil Corporation Limited