अर्थ

जलविद्युत् आयोजनाहरूको आइपिओ रोकियो: इप्पान

ऊर्जामा विदेशी लगानी ल्याउनुपर्छ– अर्थमन्त्री पौडेल

इप्पानले ३० भन्दा बढी आयोजनाको आइपिओ निष्कासन प्रक्रिया रोकिएको जनाएको छ। बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले सो जानकारी दिएका हुन्।  

विगत १४ महिनादेखि ३० भन्दा बढी आयोजनाको आइपिओ निष्कासन नहुँदा जलविद्युत् आयोजना प्रभावित भएको उनले बताए। नेपाल धितो पत्र बोर्डको अध्यक्ष नहुँदा प्रक्रिया रोकिएको छ। ‘जलविद्युत् आयोजनामा ३० प्रतिशत लगानी आईपिओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं’, कार्कीले भने, ‘आइपिओबाट पनि आउन सकेन र इक्विटी हालेर पनि आयोजनाहरू अगाडि लैजान सकिएको छैन।’

एक हजारबाट अहिले पाँच हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिब ४५ लाख बढी नेपालीले जलविद्युत्को सेयरमा लगानी गरेको बताए। उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरूमा पलाएको पनि बताए। 

उनले जलविद्युत् क्षेत्रको विकास गर्न व्यवसायीहरू उत्साहित भए पनि पछिल्लो समय धेरै समस्या आइरहेको पनि कार्कीले बताए। उनले विद्युत् विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरू पलायन हुनुपर्ने बताउँदै विधेयकले जलविद्युत् विकास गर्ने तर नेपालका निजीक्षेत्रको लगानी निरुत्साहित गर्ने बताए।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउन सरकारले वातावरण निर्माण गर्ने बताए। मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने भन्दै ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने बताए। 

नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूला ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति सरकारले लिने धारणा राखे। कार्यक्रममा आइएफसीका नेपाल निर्देशक बाबाकर फायले आइएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए। उनले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए।

कार्यक्रममा बोल्दै डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकले बर्सेनि ४०/५० अर्ब रूपैयाँ मात्रै ऊर्जामा लगानी गर्न सक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताए। उनले विदेशी लगानी लिएर ऊर्जाको दीगो विकास गर्न सकिनेमा जोड दिँदै त्यसका लागि नेपाली जलविद्युत् उद्यमीले वातावरण, समाज र सुशासन (इएसजी)मा जोड दिनुपर्ने बताए।

उपायका कार्यकारी निर्देशक सुमन रायमाझीले उपायमा विदेशी लगानी नल्याएको भए आज यो उचाइ लिन नसकिने भन्दै ऊर्जा आयोजनाले पनि विदेशी लगानी ल्याउन इएसजीलाई ख्याल गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: ६ भाद्र २०८१ ०७:५२ बिहीबार

#ippan #Finance Minister Vishnu Paudel