देशमै एक मात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत चार जातको नयाँ बिउँ सिफारिस गर्ने भएको छ। दुई जातको बिउँ परीक्षण सकेर सार्वजनिक गर्ने तयारीमा रहेको छ।
केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एनजे ७०१०, जेआरओ २०४, जेआरसिएम २ र जेआरओ ६३२ जातको बिउँ सिफारिस गर्न लागेको सूचना अधिकृत वरिष्ठ प्राविधिक विनोदकुमार गुप्ताले बताए।
उनका अनुसार प्रारम्भिक परीक्षण सकेर एड्भान्समा एनजे ७०१० जातको बिउँबाट ३.३२ टन प्रति हेक्टर उत्पादन भएको छ। यस्तै, जेआरओ २०४ को बिउँबाट २.७८ टन प्रति हेक्टर, जेआरसिएम २ बाट १.५६ टन प्रति हेक्टर र जेआरओ ६३२ बाट २.०२ टन प्रति हेक्टर जुटको रेसाको उत्पादन भएको छ। यी चारै जातका जुटको तीन वर्षसम्म लगातार परीक्षण गरेर सिफारिस गरेपछि किसानका निम्ति बिउँ सार्वजनिक गरिनेछ।
केन्द्रले एडभान्स परीक्षण गरी अब चाडै नै सादा जातको चिरामिरा सार्वजनिक गर्ने तयारी गरेको सूचना अधिकृत गुप्ताले जानकारी दिए।
जुटको अनुसन्धान केन्द्रले अनुसन्धान थालेको २० वर्षपछि यसअघि दुई जात रानी र जोआरओ २०४ जातको बिउँ सिफारिस गरेको थियो।
किसानले २०५८ सालमा सिफारिस भएको पुराना जातको बिउँ चलाई रहेका बेला पछिल्लो दुई वर्षयता भने किसानले नयाँ सिफारिस गरिएका बिउँ प्रयोग गर्न थालेका छन्। ‘नयाँ जातको बिउँ सिफारिस भएसँगै केही हदसम्म जुट उत्पादनमा सुधार आएको छ,’ केन्द्रका सूचना अधिकृत गुप्ताले नागरिक न्यूजसँग भने।
दुई दशक अघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो। तर, पछिल्लो समय जुट खेतीको उत्पादन घट्दो छ। सन् २०१०–११ मा झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायतका जिल्लामा १० हजार ५५९ हेक्टर जुट खेती हुने गरेकोमा पछिल्लो समय सात हजार पाँच सय हाराहारी हेक्टरमा जुट खेती हुने गरेको छ। सुरुवातमा १.३७ मेट्रिक टन प्रति हेक्टर जुटको उत्पादकत्व भएपनि पछिल्लो समय भने १.४५ मेट्रिक टन प्रति हेक्टर जुटको उत्पादकत्व हुने गरेको अनुसन्धान केन्द्रको रेकर्डमा उल्लेख छ।
स्वदेशी उत्पादनले नेपाली जुट पूर्वका जुट उद्योगका लागि १८ देखि २० प्रतिशत मात्र भ्याउने गर्छ। बाँकी नेपाली जुट उद्योगले भारत र बङ्गलादेशबाट जुट आयत गर्ने गरेका छन्। नेपालबाट उत्पादित जुट सामग्रीको सबैभन्दा ठूलो बजार पनि भारत नै हो। सुनसरी–मोरङमा सञ्चालित ११ उद्योगमध्ये अहिले आधा जसो मात्र चालु छन्।
रबरको बगैँचा तयारी
जुट अनुसन्धान केन्द्रको स्वामीत्वमा रहेको जमिनमा रबर खेतीका पनि अनुसन्धान थालिएको छ। केन्द्रको स्वामीत्वमा २२ हेक्टर जमिन रहेको छ।
झापाको भद्रपुर र इलामको दानाबारीमा व्यवसायिक रुपमा निजी स्तरबाट रबर खेती हुँदै आएको छ। तर, अहिलेसम्म रबर खेतीको अनुसन्धान भने भएको थिएन। जसले गर्दा जुट अनुसन्धान केन्द्रले नै नयाँ छ जातको बिरुवा रोपेर अनुसन्धान थालेको हो। सूचना अधिकृत गुप्ताले अहिले रबरको बगैँचा तयारी भएता पनि यसको अन्तिम नाफा कमाउन भने झन्डै छ वर्ष पर्खनु पर्ने बताए।
केन्द्रले अहिले रबर ६००, जी टी एक, रबर हाइब्रिड ४२२, आरआरआइएम ४३०, आरआरआइएम ४२९, आरआरआइएम ४१७ र आरआरआइएम ४१४ जातको बिउँ रोपेर अनुसन्धान थालेको हो। केन्द्रले एक हजार रबरको बिरुवा लगाएको जानकारी दिइयो।
धान, गहुँ, चना र राजमाको परीक्षण
जुट अनुसन्धान केन्द्र इटहरीले पूर्वको माटोमा कुन कुन जातको धान, गहुँ, चना र राजमा उपयुक्त हुन्छ भनेर त्यसको समेत परीक्षण गरेको छ।
धानको अनुसन्धान गर्दै आएको धनुषाको हर्दिनाथ केन्द्रले अनुसन्धान गरी परीक्षणका लागि जुट अनुसन्धान केन्द्रमा पठाएका २४ वटा जातमध्ये एसभिआइएन ०६४ बाट ७.१८ टन प्रति हेक्टर उत्पादन भएको छ। जसले गर्दा अब पूर्वका किसानका निम्ति धान पनि नयाँ प्रजातिको सिफारिस हुने भएको छ।
यस्तै, गहुँ अनुसन्धान केन्द्र भैरहवाले पठाएका छ जातका बिउँको उत्पादन राम्रो भएको छ। जसमा बीएल १९४९५१, एनएल १२०२, एनएल १३४५, एनएल १४२३, एनएल १३४९ र वान गंगा जातको बीउबाट राम्रो उत्पादन भएको छ। यहाँ परीक्षण गरिएका गहुँका जातमध्ये सबैभन्दा बढी एनएल १३४९ जातको बिउँबाट ६.११ टन प्रति हेक्टर उत्पादन भएको छ।
नेपालगञ्जमा रहेको केन्द्रले अनुसन्धान गरेको चनाको उत्पादन इटहरीमा परीक्षण गर्दा सबैभन्दा उत्कृष्ट आइसिसिएक्स ८४०५०८-३८ भएको छ। यो जातको बिउँमा १.४२ टन प्रति हेक्टर उत्पादन भएको छ। यहाँ १२ जातको बीउ परीक्षण गरिएको थियो। यस्तै, १२ जातको राजमा परीक्षण गर्दा सबैभन्दा बढी उत्पादन चित्रा जातबाट भएको छ। यसबाट ०.४४ टन प्रति हेक्टर उत्पादन भएको छ।
प्रकाशित: ५ भाद्र २०८१ १६:४० बुधबार