अर्थ

ह्वात्तै बढ्याे अलैंचीकाे मूल्य: प्रतिमन ८० हजारमा काराेबार हुँदै

‘कालो सुन’ ले परिचित अलैंचीको नयाँ उत्पादन बजारमा आउँदा यसबर्ष अघिल्लो बर्षभन्दा  प्रतिमन (४० किलोग्राम)मा २५ हजार बढेर काराेबार सुरु भएको छ। अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार आइतवार ताप्लेजुङमा प्रतिमन ८० हजार रुपैयाँका दरले अलैंचीको कारोबार भएको छ।

अघिल्लो बर्ष भदौको पहिलो साता ताप्लेजुङमा ५५ हजार प्रतिमनका दरले अलैंचीको कारोवार भएको थियो। साउन अन्तिम साताबाट नै अलैंचीको नयाँ उत्पादन बजारमा आउने गर्छ। ‘यसबर्षकै उत्पादन फाटफुट बजारमा आउन थालेको छ’, रेग्मीले भने। 

अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईका अनुसार ५५ हजार प्रतिमनबाट सुरु भएको अलैंची सोहि बर्षको व्यवसायिक कारोवारको अन्तिम अवधि सम्ममा गुणस्तरीय अलैंची प्रतिमन ९३ हजार रुपैयाँ सम्ममा काराेबार भएको थियो। उनका अनुसार आइतवार ताप्लेजुङको गुणस्तरीय अलैंची झापाको बिर्तामोडमा ८२ देखि ८३ हजार रुपैयाँ प्रतिमन सम्ममा काराेबार भयो। 

ताप्लेजुङ सहितका पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन भएको अलैंचीको ठूलो हिस्सा झापाको बिर्तामोड हुँदै भारतीय बजारमा पुग्न गरेको छ। यि जिल्लाहरुका व्यवसायीले झापाको बिर्तामोड सम्म पुग्दाको ढुवानी सहितका खर्च कटाएर स्थानीय बजारमा खरिद गर्छन्। यसबर्ष अघिल्लो बर्ष भन्दा अलैंचीको उत्पादन भने कम भएको अनुमान छ। उत्पादन घटेको अवस्थामा मूल्यमा गिरावट आउने नभई मूल्य थप बढेर जाने सम्भावना रहने अलैंची व्यवसायी  संघका अध्यक्ष भट्टराईले बताए।

नेपालको अलैंची उत्पादनको ठूलो हिस्सा भारतीय बजारमा जाने र त्यहाँका व्यवसायीले ‘मौज्दात बढाएर क्राईसिस सृजना’ गरेको खण्डमा मूल्यमा ठूलो उतारचढाव आउने उनको तर्क छ। ‘सुरुआती मूल्य राम्रो हो,तर भारतीय व्यवसायीले मौज्दात बढाएर अलैंची बजारमा क्राईसिस सृजना गरेको अवस्थामा बाहेक मूल्यमा ठूलो उतारचढाव आउँदैन ’यसबर्ष अलैंची मूल्य बढ्ने संकेत गर्दै उनले भने। तेस्रो बजारले मूल्य निर्धारण गर्ने हुँदा नेपाली बजारमा अलैंचीको मूल्यमा दैनिक रुपले उतार चढाव समेत आउने गरेको छ। 

यसले किसान तथा व्यवसायी दुबै व्यवसायिक मारमा पर्छन्। नेपालबाट निर्यात हुने अलैंचीको ठूलो हिस्सा भारत जान्छ। भारतीय व्यवसायीले नेपाली अलैंची वंगालादेश तथा अन्य खाडी मुलुकहरुमा बिक्री गर्ने गर्छन्। धान,गहुँ जस्ता खाद्य उत्पादनको झैं अलैंचीको आफ्नै सर्मथन मूल्य नहुँदा अलैंचीको व्यवसायिक कारोवार तेस्रो बजार निर्भर हुने गरेको छ।

यहीँ कारण अलैंचीको मूल्यमा उच्च तहसम्मको उतारचढाव हुने व्यवसायीहरुको ठम्याई छ । मुलुकभर १२ हजार ५ सय ८ हेक्टरमा अलैँची खेती हुँदै आएको पाइएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। कूल खेतिमध्ये कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा मात्र ११ हजार ६ सय ७ हेक्टर क्षेत्रमा रहेको छ।

अलैँचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार ५ सय २० मेट्रिकटन रहेको छ।  कोशी प्रदेशमा मात्र ६ हजार ९५.९ मेट्रिकटन उत्पादन हुँदै पाइएको छ। कूल उत्पादनको ९३ दशमलव ४९ प्रतिशत अलैँची उत्पादन कोशी प्रदेशमा हुने गरेको छ। ताप्लेजुङमा ४ हजार ५ सय हेक्टरमा अलैँची खेती हुने गरेको छ। ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित छ।  

प्रकाशित: २ भाद्र २०८१ १३:१३ आइतबार

#Taplejung #cardamom