अर्थ

एफविनद्वारा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कको विदाई

महिला उद्यमी महासङ्घ नेपाल (एफविन) ले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कको विदाई समारोह आयोजन गरेको छ।

मङ्गलवार आयोजना गरेको विदाई समारोहमा महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले उनलाई  दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरेकी थिइन्।

अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरूलाई सँधै प्रोत्साहन गरिरहने भोल्कको व्यवहार र काम निकै प्रेरणाजनक रहेको बताइन्। साथै अस्ट्रेलियाले राजदूत भोल्कमार्फत् नेपाली युवा र यहाँको शिक्षाका लागि गरेको काम सम्झन लायक रहेको उनले बताइन्।

यता, राजदूत भोल्कले नेपालले आफूलाई निकै माया र सम्मान गरेकोमा धन्यवाद दिइन्। बिदाई कार्यक्रममा राजदूत भोल्कले महिलाहरू राष्ट्र र विश्वको वर्तमान र भविष्य रहेको चर्चा गर्दै नेपाल प्राकृतिकरुपमा मात्र नभई सांस्कृतिक, आध्यात्मिक र पर्यावरणीय हिसाबले पनि सम्पन्न रहेको बताइन् । पर्यटनको ठूलो सम्भावना बोकेको देश भएकाले यसलाई सदुपयोग गर्दै समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने उनको प्रतिबद्धता थियो । 

नेपाली जनताको सरल, सुखी र शान्त जीवन बिताउने तरिकाले संसारभरका सबैलाई सिकाउन सक्ने राजदूत भोल्को भनाइ थियो । महिला उद्यमी महासंघ र अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा देशभरका महिलाहरु आर्थिकरुपमा सक्षम हुने उनको विश्वास थियो । उनले नेपालका महिला उद्यमीहरूको साहस निकै सराहनीय रहेको भन्दै विदाई समारोहका लागि महासङ्घलाई पनि धन्यवाद दिइन्।

प्रकाशित: ३० श्रावण २०८१ ०९:१८ बुधबार