अर्थ

नेपाली नाका हुँदै भारत जान थाले तेस्रो मुलुकका पर्यटक

फाइल तस्बिर

कोरोना कहरका बेला तेस्रो मुलुकका पर्यटकहरूलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ।

गृहमन्त्री लेखकले भारतसितको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सतर्कता अपनाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरूलाई नेपालका नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलमा खुलेको हो।

साउन पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्ततिसको शिष्टाचार भेटका क्रममा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकहरूलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा सकरात्मक छलफल भएको थियो।

भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुर सम्मका नाकाहरूबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएका कारण बाहेक भारतसित जोडिएका मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको जानकारी दिए। 

मन्त्री लेखकको पहलपछि अहिले झापाको काकँडभित्ता, कैलालीको मोहना, कञ्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहा, भैरवाको बेलहिया, विराटनगर र विरगञ्ज नाका पर्यटकलाई भारततर्फ जान सुचारु भएको हो।

'इलामको पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन नभएकाले पहिलेदेखि नै सुचारु छैन।' गृह मन्त्रालयका प्रवक्ता भट्टराईले भने, 'बाँकेको जमुनाहा नाका खुले पनि प्राविधिक कारणले पर्यटकको आवागमन भएको छैन।'

त्यसैगरी अध्यागमन विभागका प्रवक्ता प्रेम दाहालले कोरोना कहरपछि भारतीय पक्षबाट पनि अध्यागमन सेवा पुनः सुचारु भएपछि पर्यटकलाई सहज भएको बताए।

उनले नाका सहज भएयता काकँडभित्ता नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएका छन् भने सो नाकाबाट ११४ जना नेपाल भित्रिएको बताए।

त्यसैगरी कैलालीको मोहनाबाट १ जना भित्रिएका छन् भने वीरगन्ज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेको उनले जानकारी दिए।

त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट ९ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै नाका सहज भएयता १२ जना पर्यटक भित्रिएका छन्।

भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि यहाँका नाकामा तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा अवरोध गरेको थियो।

प्रकाशित: २९ श्रावण २०८१ १३:२० मंगलबार

#tourist