अर्थ

विमानस्थल सञ्चालनको विकल्प: ‘पिपिपी मोडल’

अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालन गर्नका लागि सार्वजनिक निजी साझेदारी (पब्लिक–प्राइभेट–पार्टनरसिप–पिपिपी) मोडलमा जानुपर्ने सरोकारवालाको बुझाइ छ।

दातृ निकायबाट अर्बौ रूपैयाँ ऋण लिएर निर्माण गरिएका पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्। अन्तर्राष्ट्रिय हवाई उडान गर्न नसकेको र सेवा सुविधा दिन नसकेको अवस्थामा पब्लिक–प्राइभेट–पार्टनरसिप (पिपिपी) मोडलमा गएर सञ्चालन गरी लाभ लिन सक्ने विज्ञहरू बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले नेपालमा पब्लिक–प्राइभेट–पार्टनरसिप मोडल हालसम्म सुरू नभएको बताउँदै उनले यस मोडललाई अवलम्बन गरे राम्रै परिणाम आउन सक्ने बताए। ‘हाम्रा विमानस्थललाई पिपिपी मोडलमा सञ्चालन गर्न सके अहिलेभन्दा राम्रै परिणाम आउला। निजी विमानस्थल सञ्चालन गर्ने कम्पनीसँग विमानस्थलको मार्केटिङ, ब्रान्डिङ र प्रचारप्रसारको लागि हामीभन्दा उत्कृष्ट रणनीति हुन सक्छ।’

मानन्धरले भने, ‘विमानस्थललाई उनीहरूले सरकारले गर्न सकेको भन्दा बढी एक्सपोजर दिन सक्छन्। अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्चालन तथा व्यवस्थापन गर्न सकिन्छ भनेर उनीहरूसँग बढी ज्ञान हुन सक्छ।’

उनले विदेशतिर कतिपय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सरकारको र निर्माण लगानी र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले राम्रै प्रतिफल लिएको हुँदा सम्भव भएसम्म नीतिगत रूपमा सबै मोडलहरू उपयोग गर्न सक्नुपर्ने बताए।

पिपिपीले सार्वजनिक र निजी क्षेत्रहरू बीचको जोखिम र स्रोतहरू बाँडफाँट गर्ने भएको उल्लेख गर्दै सरकारलाई स्रोतको बाँडफाँटले सार्वजनिक क्षेत्रको वित्तीय भार कम गर्न मदत गर्ने उनको बुझाइ छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको अवस्थामा कसरी शक्ति, नियम, स्रोत र प्रतिफलकोे स्पष्ट र पारदर्शी बाँडफाँट गर्न सकिन्छ भन्नेबारेमा बताए। साथै निजी क्षेत्रलाई परियोजनाहरू विकास र वितरण गर्न सार्वजनिक क्षेत्रका स्रोतहरूमा पहुँच स्थापित गर्न सक्षम बनाउने पनि बताए।

‘एउटा कम्पनीलाई सुटुक्क दिनुभन्दा पनि नीतिगत रूपमै प्रस्ताव गरेर कुनै राम्रो अन्तर्राष्ट्रिय कम्पनीलाई दिनु अर्को विकल्प हो।’ मानन्धरले भने, ‘सरकारले यसलाई नीतिगत रूपमा कसरी लान्छ त्यो महत्त्वपूर्ण हुन्छ।’

उनले यसका लागि सार्वजनिक प्रस्ताव गरेर लान सके अहिलेभन्दा राम्रै परिणाम आउन सक्छ तर यसका लागि स्पष्ट नीतिगत तयारी गरी जवाफदेही र पारदर्शी भएर काम गर्नुपर्ने बताए। लामो समयदेखि सञ्चालनमा आइसकेको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म पूर्ण सचालनमा ल्याउन नसक्दा उड्डयनसँग सम्बन्धित सरोकारवालाले पटकपटक आलोचना गर्दै आएका छन्।

यसैबीच सञ्चालन भइसकेको तीन र निर्माण भइरहेको एक गरी चारै विमानस्थललाई पिपिपी मोडलमा सञ्चालन गर्न पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पिपिपी मोडेलमा विमानस्थल सञ्चालन गर्ने संकेत देखाएका थिए। त्यसका लागि पूर्वप्रधानमन्त्री दाहालले गत पुस १० गते सरकारको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा विमानस्थलहरू पिपिपी मोडेलमा चलाउनेबारे तयारी भइरहेको बताएका थिए। उनले पिपिपी मोडेलमा सञ्चालन गर्न सोचेजस्तो सजिलो नभएकाले यसबारे बृहत् अध्ययन आवश्यक रहेको बताएका थिए।

यसैक्रममा अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्दा लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको लामो समय बितिसक्दा पनि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसकेपछि सरकारले तिनीहरूको सञ्चालन पिपिपी मोडेलमा गर्ने निष्कर्षमा पुगेको बताएका थिए।

नेपालमा पिपिपी मोडलमा विमानस्थल सञ्चालन गर्ने कानुनी व्यवस्था छैन। नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको जिम्मा नियामक नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ। सोहीक्रममा प्राधिकरणले पिपिपी मोडलमा विमानस्थल सञ्चालनका लागि कानुन संशोधनको प्रस्ताव मन्त्रालयलाई पठाएको पनि छ।

 प्राधिकरणले पनि कानुन संशोधनपछि यस मोडेलबारे औपचारिक छलफल हुने बताउँदै आएको छ। भारतको दिल्ली, मुम्बई, लखनऊ, अहमदावाद, मंगलुरु, जयपुर, गुवाहाटी, तिरुवनन्तपुरमजस्ता सहरहरूमा पिपिपी मोडलमा विमानस्थल सञ्चालन भइरहेका छन्। यस्तै सिंगापुर र इन्डोनेसियाका विमानस्थलहरू पनि यही मोडेलमा चलिरहेका छन्।

विदेशी दातृ निकायसँग ऋण लिएर बनाइएका पोखरा र भैरहवा विमानस्थल अझै पूर्ण सञ्चालनमा आउन सकेका छैनन्। करिब साढे ३२ अर्बको लागतमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। तीन हजार मिटर लम्बाइको रनवे भएको यस विमानस्थलमा बोइङ ७७७ र एयरबस ३३० र त्यही क्षमताका वाइडबडी विमान अवतरण र उडान भर्न सक्ने क्षमता छ।

यस्तै २२ अर्ब रूपैयाँ चिनियाँ ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको थियो। २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। ११ जहाज पार्किङ, आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्षमता रहेको विमानस्थलको २५ सय मिटरको रनवे छ। यसमा एक सय ५० देखि एक सय ८० सिट भएको एयरबस ३२० र बोइङ ७५७ वा सो सरहको जहाज उडान गर्ने क्षमता छ।

वायुसेवा सुधार समतिमा रहेर काम गरेका टिकाराम राईले पछिल्लो समय विमानस्थल सञ्चालनमा पिपिपी मोडलको बहस व्यापक चलिरहेको अवस्थामा नेपालको विमानस्थललाई पनि सोही मोडलमा सञ्चालन गर्न सकिने बताए। यसका लागि उनले पनि प्रस्ट र पारदर्शी प्रस्ताव आह्वान गरेर जान सके राम्रो हुने बताए।

‘टेन्डर आह्वान गर्दा कस्तो कम्पनीलाई योग्य मान्ने, कति अनुभव भएको कम्पनी चाहिने, प्रविधि कस्तो छ, क्षमता र दक्षता कस्तो छ भन्ने कुरा प्रस्ट हुनुपर्छ।’ राईले भने, अन्तर्राष्ट्रिय बजारमा पहँुच भएको र राम्रो छवि भएको प्रविधियुक्त कम्पनी भएको, सरकारलाई र सेवाग्राहीलाई फाइदा हुने किसिमले निजीलाई संलग्न गराउँदा राम्रो हुन्छ।’

सरकारले सम्झौता गर्दा प्रस्ट र राष्ट्रिय हितलाई विचार गरेर यो ढाचाँ अवलम्बन गरे विमानस्थलहरूबाट प्रशस्त फाइदा लिन सकिने बताए।

‘निजी विमानस्थल कम्पनीलाई एयरपोर्ट सञ्चालनमा संलग्न गर्ना साथ सबै सकिन्छ भन्ने हुँदैन। उनीहरूसँग हाम्रोभन्दा उत्कृष्ट प्रविधि, दक्ष जनशक्ति, क्षमता र दक्षता हुनसक्छ।’ राईले भने, ‘हाम्रो विमानस्थलले क्विक सर्भिस दिन सकेको छैन, विमानस्थलकै सर्भर डाउन भइरहन्छ, विमानस्थलमा पानी पसेर हैरान हुन्छ।’

नीति बनाएर निश्चित समयको लागि विमानस्थल सञ्चालनमा निजीक्षेत्रलाई संलग्न गराएर ग्राहकमूखी सेवाका साथै सर कारले अधिकतम लाभ लिने गरी पिपिपीमा जादाँ हुने उनले बताए।

सौर्यको उडानमा रोक

सौर्य एयरलाइन्सले उडान गर्न नपाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार सौर्यको सञ्चालन अनुमति सकिएको र सञ्चालन अनुमतिका लागि चाहिने मापडण्ड पूरा गर्न दक्ष जनशक्ति आवश्यक पर्ने जनाउँदै अहिले जनशक्ति अभावकै कारण सौर्यले उडान भर्न नपाउने भएको हो।

गत साउन ९ गते काठमाडौंबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै परिसरमा दुर्घटना भएको थियो। दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्यबाहेक जहाजमा सवार एयरलाइन्सका १६ जना प्राविधिकको घटनास्थलमै मृत्यु भएको थियो। अधिकांश दक्ष प्राविधिक जनशक्ति सो जहाज दुर्घटनामा गुमाउनु परेपछि सौर्य एयरलाइन्सको उडानलाई प्राधिकरणले रोकेको हो।

सौर्यको सञ्चालन अनुमति सकिए पनि उडान सञ्चालन अनुमति एओसी अझै वैध रहेको र एओसीका लागि चाहिने मापदण्ड पूरा गर्न दक्ष जनशक्ति आवश्यक पर्छ। सौर्यले भने उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिइसकेको छ।

 अनुमति दिने नदिने भन्ने विषय मन्त्रालयले सोधेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सौर्यले प्राविधिकसहितका जनशक्ति भर्ना गरेपछि मात्र एओसीको मापदण्ड पूरा हुने जनाउँदै जहिले ती मापदण्ड पूरा हुन्छन् त्यसपछि अनुमति पाउने जानकारी दिएको छ। 

प्रकाशित: २८ श्रावण २०८१ ०६:१९ सोमबार

#Alternatives to airport operations #Public Private Partnerships