अर्थ

असिनाले करोडौंको क्षति

फलेवास – केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ। 

जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो। गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चलिरहेको छ। जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र नाङलीवाङमा परेको असिनाले रु दुई करोड भन्दा बढी मूल्य बराबरको तरकारी तथा गहुँबाली नष्ट भएको गाउँपालिकाले जनाएको छ। 

उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारीको पकेट क्षेत्र हो। यो गाउँपालिकाका सयौं कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित छन्। 

यता फलेवास नगरपालिका– ९ भँगरा, वडा नं ८ ठानामौला, वडा नं २ थापाठाना, वडा नं ३ शंकरपोखरी र वडा नं ४ मुडिकुवामा परेको असिनापानीले गहुँ, भर्खरै उम्रिएको मकैलगायत कृषकले व्यावसायिक रुपमा लगाएको तरकारीबाली नष्ट गरेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए। 

हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन्। कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन्। 

जिल्लाको मोदी, महाशिला, पैंँयू र कुश्मा नगरपालिकामा पनि असिनाले तकारी र अन्नबालीमा सामान्य क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। पर्वतमा मगलबारदेखि लगातार रुपमा पानीसँगै असिना पनि परिरहेको छ। 

जिल्ला कृषि विकास कार्यालय पर्वतले जिल्लाका अधिकांश भागमा परेको असिनाले ठूलो क्षति पुर्‍याएको जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँदै उनीहरुलाई आवश्यक राहत प्रदान गर्नका लागि स्थानीय तहसँग पहल गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। 

विशेषगरी गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले ठूलो क्षति बनाएको छ भने व्यावसायिक रुपमा तरकारीखेती गरेकालाई धेरै नोक्सानी परेको छ। जिल्लामा कृषि बीमा कार्यक्रममा धेरै कृषक नआइसकेकाले उनीहरुको राहतका लागि सम्बन्धित स्थानीय तहले ध्यान दिनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए। रासस

प्रकाशित: १७ चैत्र २०७४ ०७:४६ शनिबार

असिनाले करोडौंको क्षति