अर्थ

कपिलवस्तुमा सकियो धान रोपाइँ, ६९ हजार ४७५ हेक्टरमा धान खेती

कपिलवस्तुमा धान रोपाइँ सकिएको छ । असार पहिलो साता सुरु भएको रोपाइँ साउन दोश्रो साता सकिएको हो । 

किसानलाई अहिले समयमै वर्षा हुँदा रोपाइँका लागि सहज भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार कपिलवस्तुमा रोपाइँ सकिएको र यस वर्ष ६९ हजार ४७५ हेक्टरमा धान खेती गरिएको छ । पर्याप्त पानी परेकाले जिल्लामा ९९ दशमलव ९९ प्रतिशत रोपाइँ सकिएको ज्ञान केन्द्रका सुचना अधिकारी महेन्द्र ओझाले बताए । 

केन्द्रका प्रमुख भास्कर पौडेलले जिल्लामा धानको ब्याड राखेको ठाउँ बाहेक अन्य स्थानमा धान रोपाइँ सकिएको बताए । ‘गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ’, उनले भने ।  यसवर्ष प्रति हेक्टर ४ दशमलव ६ हेक्टर धान उत्पादन हुने अनुमान गरिएको उनले बताए ।  

गतवर्ष भने ६५ हजार ८६६ हेक्टरमा गरिएको धान खेतीमा प्रति हेक्टर ४ दशमलव ५ हेक्टरका दरले २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष मनसुन समयमै आएको र प्रशस्त पानी परेकाले धान उत्पादनमा वृद्धि हुने उनले बताए ।  

जिल्लामा ६९ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको थियो । जिल्लामा राधा चार, सावाँ मन्सुली, मनिषा, गोल्डेल मन्सुली, लोकनाथ, गोरखनाथ,साबित्री लगायत जातका धान रोपिने गरिएको छ ।  

प्रकाशित: २३ श्रावण २०८१ १८:३८ बुधबार