अर्थ

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा  देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्रीस्तरको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका– २ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका –७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो।

उनीहरुलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्ताहरु मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

उर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो। नवनियुक्त कार्की पूर्व उर्जा मन्त्रालयका सचिव तथा गुरुङ विद्युत विकास विभागका पूर्व महानिर्देशक हुन्।

प्रकाशित: २० श्रावण २०८१ १८:२३ आइतबार

#Nepal Electricity Authority #Devendra Karki #Mahendra Bahadur Gurung