अर्थ

असारको मिति राखेर साउनमा तालिम !

सिरहाको गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनका लागि पदाधिकारीहरूलाई अभिमुखिकरण’ तालिममा अनियमिता गरेको पाइएको छ।

गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सम्पन्न गरिसक्नु पर्ने कार्यक्रम नगर उपप्रमुख मान्ती साहको मिलेमतोमा अनियमित तरिकाले साउनमा गरिएको बुझिएको छ।

उपमेयर साहले उद्घाटन गरेको तालिममा पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरूको  सहभागीता रहेको छ। तालिम साउनमा भएपनि मिति भने असारकै राखिएको पाइएको छ।

गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायीक महिला विकास केन्द्र, सिरहाको आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमाकोे समन्वयमा साउन १३ गते सुरू भएको तालिम आज सम्पन्न हुने उपप्रमुख मानती साहले जानकारी दिइन्।

तालिम साउनमा भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गते लेखिएको उनले स्वीकारिन्। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट खर्च गर्न अहिले कार्यक्रम गरिरहेको उनको भनाइ छ।

कार्यक्रममा सहभागी वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामाले स्थानीय जनप्रतिनिधि र वडा स्तरीय मेलमिलाप सदस्यहरूलाई क्षमता विकासको लागि तालिम आयोजना भएको बताए।

वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले व्यानरको मिति र तालिम भैरहेको मिति नमिलेको बताए। केही प्राविधि कारणवस ढिलो भएको हुन सक्ने उनको भनाइ छ।

तालिमको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, जिन्सी शाखाका प्रमुख निरञ्जन शाक्य र सम्बन्धित शाखाका अधिकारी नानीमैया खपाङ्गीले अनभिज्ञता जनाएका छन्।

उनीहरूले आफूहरूलाई कार्यक्रमको विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन्। ‘कसले कसरी के तालिम गराई रहेको छ मलाई औपचारिक जानकारी आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने।

उपमेयर साहले भनिन्, ‘वास्तवमा भन्ने हो भने यो तालिम असारमै सक्नु पर्ने हो। तर वडा अध्यक्षहरूको व्यस्तताका कारण हामीले असारमा गर्न सकेनौ’, उनी भन्छिन्, ‘असारको कार्यक्रम हामीले साउनको १३ देखि १६ गतेसम्म सञ्चालन गराइरहेका छौं।’

गत आर्थिक वर्षको योजना अहिले गर्न मिल्छ ? भन्ने प्रश्नमा उपमेयर साहले भनिन्, ‘गर्न मिल्छ होला, अहिलेसम्म हाम्रो १८ नम्बर भर्ने कार्यपालिको बैठक बसेकै छैन। त्यही बैठकमा यो कार्यक्रम पेस गरेर भुक्तानीको व्यवस्था गर्छौं।’

स्रोतका अनुसार गोलबजार नगरपालिको लक्षित वर्गको सम्पूर्ण कार्यक्रम उपमेयर मानती साहलाई जिम्मा दिएको छ। लक्षति वर्गको कार्यक्रमको लागि पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा करिब ५० लाख बजेट विनियोजन गरेको थियो। यो तालिम पनि सोही अन्तर्गतको हो।

प्रकाशित: १६ श्रावण २०८१ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App