अर्थ

कृषि समितिकाे बैठक बस्दै, सभापतिमा थापालाई घाेषणा गर्ने तयारी

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी सांसद कुसुमदेवी थापाको एकल उमेदवारी परेको छ। आज समितिमा हुने निर्वाचनका लागि सोमबार उमेदवारी दर्ता गर्ने समय तोकिएको थियो।

थापाको मात्र एकल उमेदवारी दर्ता भएकाले समिति बैठकमा उनको नाम ज्येष्ठ सदस्यले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। आज अपरान्ह साढे चार बजे बैठक बोलाइएको छ। थापाले सोमबार उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक बसेका छन्।

रुकुमपूर्व घर भएकी थापा महामन्त्री गगन थापानिकट मानिन्छिन्। यसअघि समिति सभापति रहेकी आरजु राणा (देउवा) परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो।

प्रकाशित: १५ श्रावण २०८१ ०९:३१ मंगलबार

#Foreign Minister #Arju Rana (Deuba)