अर्थ

स्प्रे ट्यांकमा लाखौं भ्रष्टाचार

रौतहटको गढीमाई नगरपालिकामा किसानलाई वितरण गरिने स्प्रे ट्यांकमा व्यापक भ्रष्टाचार भएको देखिएको छ। बजारमा दुई हजार आठ सय रूपैयाँमा पाइने स्प्रे ट्यांकलाई नगरपालिकाले करिब ६ हजार रूपैयाँ तिरेको देखिएको छ।

नगर प्रमुख श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, जिन्सी प्रमुख राधेश्याम यादव र स्प्रे ट्यांक आपूर्ति गर्ने केसरी एन्ड सन्स प्रालि गौर १ को मिलेमतोमा स्प्रे ट्यांक खरिदमा लाखौं भ्रष्टाचार भएको रहस्य खुलेको छ।

सामान्य किसानले तीन हजारभन्दा कम मूल्यमा बजारमा किन्न सकिने ट्यांकलाई नगरपालिकाले केसरी एन्ड सन्स प्रालि गौरसित प्रति ट्यांक पाँच हजार एक सय ९० रूपैयाँमा खरिद गरेको छ। नगरपालिकाले १३ प्रतिशत भ्याट तिरेको देखिएको छ।

केसरी एन्ड सन्स प्रालिले असार १५ मा कारोबार गरी असार १६ मा बिजक जारी गरेको छ। बिजक नम्बर ५० रहेको केसरी एन्ड सन्सको बिलमा स्प्रे ट्यांक तीन सय ३३ थानको पाँच हजार एक सय ९० का दरले १७ लाख २८ हजार दुई सय ७० रूपैयाँ भुक्तानी मागेको र नगरपालिकाले गत असारमै भुक्तानी गरिसकेको छ।

नगरपालिकाले सम्पूर्ण रकमको १३ प्रतिशत भुक्तानी तिर्दा एउटा स्प्रे ट्यांकको मूल्य पाँच हजार आठ सय ६४ रूपैयाँ ७० पैसा पर्न आउँछ। बजारमा दुई हजार आठ सय रूपैयाँमा सजिलै पाइने स्प्रे ट्यांकलाई नगरपालिका पाँच हजार आठ सय ६४ रूपैयाँका दरले भुक्तानी गरी लाखौं भ्रष्टाचार गरेको देखिएको छ।

असारमै भुक्तानी गरिसकिएको स्प्रे ट्यांक गढीमाईका किसानलाई साउनमा मात्र वितरण गरिएको छ। गत हप्ता किसानले दुई हजार ६ सय रूपैयाँका दरले रकम बुझाउँदै स्प्रे  ट्यांक बुझेको भरपाइमा हस्ताक्षर गरेका छन्। नगरपालिकाका कर्मचारीले असारकै मितिमा रकम बुझ्दै भरपाइमा हस्ताक्षर गराएका हुन्।

गढीमाई नगरपालिका– ४ का किसान कपिलदेव सहनीले आफूले गत ४ साउनमा दुई हजार छ सय रूपैयाँ तिरेर एउटा स्प्रे ट्यांक बुझेको बताएका छन्। किसानले होहल्ला गरेर नबुझ्ने अडान लिँदा स्प्रे ट्यांक नबुझ्ने किसानलाई नगरपालिका कर्मचारीले कुनै पनि सुविधा नदिने धम्की दिएपछि किसानहरू ट्यांक बुझ्न बाध्य भएका हुन्।

खरिद भएर आएको तीन सय ३३ स्प्रे ट्यांकमध्ये करिब ५० ओटा जिन्सी शाखाबाटै गायब भएको छ। गायब भएको ट्यांकको नक्कली भरपाई गरी कागजपत्र मिलाउने काम भइरहेको स्रोतको दाबी छ।

गत आर्थिक वर्षमा कारोबार भएको स्प्रे ट्यांकलाई चालु आर्थिक वर्षमा वितरण गरी किसानसित रकम असुल गरिएकोमा नगरपालिकामा व्यापक असन्तुष्टि देखिएको छ।

गत आवको कारोबारमा चालु आवमा रकम असुल गर्नु नियमले नमिल्ने बताइए पनि प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले उठाइएको रकम नगरपालिकाको आयमा दाखिला हुने प्रावधान रहेको बताउँछन्। नियम कानुन नबुझेर केहीले आफूविरुद्ध अफवाह फैलाएको आरोप लगाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत यादवले सफाइ दिए पनि गढीमाईका वासिन्दाले किसानलाई स्प्रे वितरण गरिएको विषयमा लाखौंको भ्रष्टाचार भएको र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: १५ श्रावण २०८१ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App