अर्थ

करको दर वृद्धिको विरोध समाधान गर्न कार्यदल

चितवन– भरतपुर महानगरपालिकाले करको दर वृद्धिसम्बन्धि उत्पन्न विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाले करको दर बढाएपछि जिल्लाका व्यवसायीले विरोध गरेकाले उक्त कार्यदल गठन गरिएको हो।

बुधबार भएको बैठकमा महानगरपालिकाले कर उठाउन जादा महानगरपालिका र उद्योग वाणिज्य संघ दुवै पक्षका प्रतिनिधि सहभागी हुने प्रस्ताव राखेको थियो । महानगरपालिकाको टोलीमा व्यवसायीका प्रतिनिधि आउँदा हुने प्रस्ताव गरिए पनि त्यसप्रति उद्योग वाणिज्य संघ चितवन सहमत भएन।

बैठकमा वर्गीकरणका आधार छुट्याउने जिम्मेवारी संघलाई दिइएको संघका अध्यक्ष सहन प्रधानले बताए। ‘कर र व्यवसाय वर्गीकरणका आधार मिलेको थिएन,’ उनले भने, ‘वर्गीकरण गर्ने सम्बन्धमा उद्योग वाणिज्य संघले ल्याएको वर्गीकरणलाई आधार मानेर समायोजन गर्ने सल्लाह भएको छ ।’ कार्यदलको अर्को बैठकमा संघले व्यवसाय वर्गीकरणको आधार प्रस्तुत गर्नेछ । त्यसमा छलफल गरेर अगाडि बढ्ने तय भएको प्रधानले बताए।

भरतपुर महानगरपालिकाले कर दस्तुरमा भारी वृद्धि गरेको भन्दै चितवनका व्यवसायीले विरोध गर्दै मंगलबार ज्ञापनपत्र बुझाएपछि कार्यदल गठन गरिएको थियो । कार्यदलले व्यवसायीले राखेका समस्या समाधान गर्न छलफल गरेर निर्णयमार्फत करका बारेमा उठेको विवाद टुंग्याउनेछ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा उद्योग वाणिज्य संघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महानगरपालिकाको वडा नंं. १ र १० का वडा अध्यक्ष, चितवन उद्योग संघका प्रतिनिधि र राजस्व कार्यालय चितवनका प्रतिनिधि सदस्य छन् । कार्यदलको अर्को बैठक आइतबार बस्ने जानकारी दिइएको छ।
 

प्रकाशित: १६ चैत्र २०७४ ०१:२१ शुक्रबार

करको दर वृद्धिको विरोध गर्न कार्यदल