अर्थ

नेप्से परिसूचक बढ्ने क्रम जारी,१३ अर्ब ९१ करोड ५५ लाख भन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।

सोमबार तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा  १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ ।

बैङ्किङ एक दशमलव २३, विकास बैङ्क शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव ४७, लघुवित्त शून्य दशमलव ५३ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।अरु समूहको उपसूचक बढेको छ । सोमबार वित्त समूह शून्य दशमलव ७१, जलविद्युत् एक दशमलव ७४, जीवन बीमा शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन दुई दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ७८, व्यापार एक दशमलव ८६ र अन्य समूहको उपसूचक एक दशमलव ४३ प्रतिशतले बढेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार नौ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित: ७ श्रावण २०८१ १६:०६ सोमबार

#Share_Karobar #Nepal Stock Exchange (NEPSE) #share Bazar