अर्थ

लक्ष्य हासिलमा जहिल्यै चुक्छ सत्ती भन्सार

टीकापुरस्थित सत्ती भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। कार्यालयले लक्ष्यको तुलनामा ८३ दशमलव ३६ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको हो।

उसले १२ करोड १ लाख ४७ हजार राजश्व सङ्कलनको लक्ष्य राखेकोमा १० करोड १ लाख ५० हजार ९ रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ।

कार्यालयले दिएको जानकारी अनुसार १२ मध्ये ३ महिनामा मात्रै लक्ष्यभन्दा बढी राजश्व संकलन भएको देखिन्छ। कार्यालयका अनुसार भदौ, मंसिर र पुष महिनामा मात्रै लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ।

भदौमा ११३ दशमलव १९ प्रतिशत, मंसिरमा १२० दशमलव ११ प्रतिशत र पुषमा १३९ दशमलव २७ प्रतिशत राजश्व संकलन भएको छ। कार्यालयका अनुसार भदौमा ९८ लाख ७८ हजार लक्ष्य रहेकोमा १ करोड ११ लाख ८० हजार ९९२ रुपैयाँ, मंसिरमा १ करोड ३ लाख २७हजार लक्ष्य रहेकोमा १ करोड २४ लाख ४ हजार रुपैयाँ र पुषमा १ करोड २ लाख ४७ हजार लक्ष्य रहेकोमा १ करोड ४२ लाख७१ हजार ४५४ रुपैयाँ राजश्व संकलन भएको छ।

तथ्याङ्क अनुसार सबैभन्दा कम फागुनमा ५३ दशमलव १२ प्रतिशत मात्रै राजश्व संकलन भएको देखिन्छ। १ करोड ५ लाख ६३ हजार लक्ष्य रहेको यस महिनामा ५६ लाख ११ हजार ४४८ रुपैयाँ मात्रै राजश्व संकलन भएको छ।

आर्थिक वर्षको पहिलो महिना साउनमा ७८ लाख १० हजार लक्ष्यमा७१ लाख ९ हजार ७५२ रुपैयाँ, असोजमा १ करोड ८ लाख ८९ हजार लक्ष्यमा ६२ लाख ६१ हजार रुपैयाँ, कार्तिकमा ९८ लाख १२ हजार लक्ष्यमा ९२ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन भएको छ।

त्यस्तै माघमा ९६ लाख ९४ हजार लक्ष्यमा ६६ लाख ५७ हजार ९८७ रुपैयाँ, चैतमा ९६ लाख ९० हजार लक्ष्यमा ७६ लाख २२ हजार ५०९ रुपैयाँ, बैशाखमा ९९ लाख ८५ हजार लक्ष्यमा ५६ लाख ६५ हजार रुपैयाँ, जेठमा १ करोड १० लाख ३१ हजार लक्ष्यमा ७९ लाख ११ हजार ५०१ रुपैयाँ र असारमा १ करोड २ लाख २२ हजार लक्ष्यमा ६२ लाख १९ हजार ३६६ रुपैयाँ राजश्व संकलन भएको छ।

कार्यालय प्रमुख दिनहरी सापकोटाले व्यापारिक मन्दीले आयात घटेका कारण राजश्व सङ्कलनमा कमी आएको जानकारी दिए। उनले चोरी निकासीले पनि राजश्व सङ्कलनमा समस्या भएको बताए। ‘मैले चोरी निकासीले नै हो भन्न त नमिल्ला’उनले भने–‘त्यो पनि एक कारण हो।’

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलनमा सुधार भएको बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष ४४ प्रतिशत मात्रै राजश्व संकलन भएको थियो। उनले यसैलाई चित्त बुझाउन भने नसकिने बताए।

२०७५ सालदेखि मूल भन्सारका रुपमा सञ्चालनमा आएको सत्ती भन्सार कार्यालयले सुरुवातका ३ आर्थिक वर्ष मात्रै लक्ष्य अनुसारको राजश्व संकलन गरेको थियो। त्यसपछिका वर्षहरूमा भने कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन।

मूल भन्सार भएपनि सिमाना काखक्रौलादेखी भार सीमावर्ती बजार तिकुनियाँसम्मको सडकको अवस्था राम्रो छैन। मोहनानदीको पुलदेखि भारतीय सीमा सुरक्षा बल रहेको स्थानसम्मको करिब २ किलोमिटर सडक निकै जीर्ण छ। वर्षाको समयमा सो ठाउँमा हिँडडुल गर्न समेत निकै समस्या हुने गरेको छ। त्यस उता तिकुनियाँसम्मको करिब ११ किलोमिटर सडकमा समेत वर्षाको समयमा आवतजावतमा समस्या नै हुन्छ। 

प्रकाशित: १ श्रावण २०८१ १३:४३ मंगलबार

#Satti Bhansar