अर्थ

केरा खेतीमा रमाउँदै निर्मल

पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दिनचर्या फेरिएको छ। चितवन कालिका नगरपालिका निवासी भट्टराईले तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केरा खेती गर्दै आएका छन्। नेपाली सेनाको जागीरे जीवनपछि वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उनी व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन्।

“उमेरमै जागीरबाट पेन्सन निस्किएँ, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसीना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु”, उनले भने, “विदेशमा १० घन्टा बगाउने पसीना यहाँ चारपाँच घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ।”

दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केरा खेती गर्दै छन्। छिटो आम्दानी गर्न सकिने, अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनले बताए।

“पहिलो वर्ष प्रतिगोटा ४० रुपैयाँका दरले १७ हजार आठ सय ५० बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो”, उनले भने, “तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन्।”

निर्मलले गरेको व्यावसायिक केरा खेतीबाट दुई जनाले रोजगारीसमेत पाएका छन्। उनी आफैं पनि पूर्ण रूपमा काममा लागेका छन् भने अन्य दुई जनासहित आवश्यकता अनुसार दैनिक ज्यालामा कामदार राखेका छन्। अहिले केरा खेतीबाट मेहनत अनुसारको आम्दानी हुन थालेपछि उनलाई सन्तुष्टि दिलाएको छ।

“अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा सात रुपैयाँका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्”, उनले भने, “प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु।”

समयमा बीउ, मल नपाउनु, सिंचाइको अभाव, कामदार नपाउनु जस्ता समस्याले केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव रहेको छ। पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको निर्मलले बताए।

“सिँचाइ, हावाहुरी र कीरा केरा खेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ”, उनले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

“कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिंदै आएका छौं”, उनले भने, “किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याबारे सुझाव दिने गर्ने गरेका छौं।”

पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ। केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन्।

यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ।  

प्रकाशित: ३१ असार २०८१ १०:४३ सोमबार

#Jagire life of Nepali army #Long term thinking