अर्थ

उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार

काठमाडौं– अमेरिकी राजदूत अलाइना बी टेप्लिजले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ। 

मन्त्री पुनसंगको भेटमा अमेरीकी राजदूत टेप्लिजले अमेरिका र  नेपालको बीचमा बलियो सम्बन्ध रहेको भन्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध सुमधुर मजबुत बन्ने धारणा राखेकी थिइन। उनले एमसीसी  परियोजना लागु भइसकेको भन्दै आगामी भदौबाट काम तीव्र रुपमा सुरु हुने जानकारी समेत दिइन।

अमेरिकी राजदूतले उर्जा मन्त्रालयको प्राथमिकताबारे चांसो राख्दै अमेरिकी सरकार उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको जानकारी गराइन्। 

जवाफमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रको विकास गर्ने सरकारको योजना रहेको भन्दै अन्तरदेशी प्रशारण लाइन निर्माण उर्जा मन्त्रालयको प्राथमिकतामा रहेको बताए। उनले नेपालमा उपयुक्त लगानीको बातावरण बनेको भन्दै त्यसका लागी अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताए। 

राजदूतसंगको भेटमा मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट  विजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको जानकारी गराए। माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका उर्जामन्त्री पुनले उर्जा आर्थीक विकासको प्रमुख आधार भएको भन्दै त्यसका लागि साना तथा ठुला परियोजना समयमै सम्पन्न गर्नको लागी मन्त्रालयले काम अगाडी बढाइरहेको दाबी गरे। 

भेटमा अमेरिकी राजदूतले अपर कर्णालीजस्ता ठुला आयोजनाहरुको सफल कार्यान्वयन भए त्यसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप हौसला मिल्ने बताइन्।

प्रकाशित: १४ चैत्र २०७४ ०९:४१ बुधबार

उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार