अर्थ

पर्यटनमा मनसुनको असरः चारैतिरको पहिरोले पोखरा ‘लक’ भयो, पाहुना रोकिए

३५ प्रतिशतको अकुपेन्सी १५ प्रतिशतमा झर्योः पर्यटन व्यावसायी

पर्यटकीय सहर पोखरा। तस्बिरः सन्तोष पोखरेल/नागरिक

मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ। पर्यटन व्यावसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यावसायीले बताएका छन्। होटलका पाहुना घटेसँगै अकुपेन्सी कम भएको व्यावसायीले बताएका छन्।  

लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टका संचालक हरि शर्माका अनुसार तीनदिने लगातारको झरिले पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। ‘झरिले सबैतिर बाढी पहिरो आउँदा पोखरा नै ‘लक’ भयो। पाहुनाको आउजाउ ठप्प भयो,’ शर्माले भने, ‘आउन थालेका पाहुना पनि जहाँको त्यही रोकिए।’ उनका अनुसार यो बेला भारतीय र चिनियाँ पाहुनाको आगमन थियो। चिनियाँ पाहुना काठमाडौंमै रोकिएको उनले बताए। बुटवल हुँदै पोखरा आउन थालेका भारतीय पाहुना बाटो अवरुद्ध हुँदा बुटवलबाटै घर फर्केको उनले सुनाए।  

‘पाहुनाको हिडडुल गर्ने अवस्था नै रहेन। बाढीपहिरोले गर्दा धेरै पर्यटकको बुकिङ क्यान्सिल भयो,’ उनले भने, ‘सबैतिर बाढीपहिरोको अप्ठेरोले गर्दा पाहुना चलायमान हुन सकेनन्।’ तीनदिनको झरीले पोखरा भित्रिने मुख्य सिद्धार्थ र पृथ्वी राजमार्ग तीनदिनससम्मै ठप्प जस्तै भएको थियो। बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा पहिरोसँगै हिलोको लेदोले घन्टौसम्म पाहुना बाटैमा रोकिएको उनले बताए। काठमाडौंबाट पोखरा आउन झन्डै २२ घण्टा लागेको व्यावसायीले बताए। त्यस्तै वर्षाले ठाउँठाउँमा पहिरो निम्त्याउँदा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको थियो।  

वर्षाका कारण पोखरासम्मको हवाई मार्ग पनि ठप्प भएको थियो। अविरल वर्षाका कारण गत शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिनभर अवरुद्ध भएको थियो। आइतबार बल्ल उडान भएका थिए। ‘पोखरासम्मको हवाई र स्थल यातायात अवरुद्ध हुँदा यात्रुको ओहोरदोहोर नै रोकियो,’ उनले भने। उनका अनुसार होटलको अकुपेन्सी यो बेला निकै नै कम छ। वर्षा अघिसम्म करिब ३५ प्रतिशत रहेको पोखराका होटलको अकुपेन्सी अहिले १५ प्रतिशतमा झरिसकेको छ। केहीदिन अघिसम्म चलायमान रहेको पर्यटन क्षेत्र वर्षाका कारणले एकाएक सुनसान बनेको शर्माले बताए।

‘पोखरा सबै मौसमका लागि भनेर भनेका त छौ। तर, पर्यटकको यात्रा सुरक्षित बन्न सकेन। कहाँ कतिखेर पहिरोको चपेटामा परिने भन्ने त्रास भयो,’ होटल संघका पूर्व अध्यक्ष समेत रहेका शर्माले भने, ‘आधा बाटो आइसकेका पाहुना घर फर्किन बाध्य भएका छन्। पाहुनाको यात्रा सुरक्षित हुनै सकेन। पहुँचमा समस्या हुँदा पाहुनाले चाहेर पनि पोखरा आउन पाएनन्।’ 

केहीवर्ष अघिसम्म यो बेला पाहुना नहुँदा पर्यटन क्षेत्र पुरै सुनसान हुने गरेकोमा पछिल्लो समय केही आगमन त छ, तर, त्यो पर्याप्त नभएको उनले बताए। ‘दशक अघिजस्तो यो बेला होटल बन्द गर्नुपर्ने अवस्था त छैन, तर, पाहुनाको आजजाउ कम छ। अझ वर्षाले गर्दा त झनै बढी प्रभावित भएको छ,’ उनले भने।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि यो पटकको वर्षायाममा पाहुना आगमन निकै नै घटेको बताउँछन्। ‘पोहोर यो बेला भन्दा अहिले पाहुना कम छन्। अकुपेन्सी बढीमा १५ प्रतिशत होला। बाटो अवरुद्ध हुँदा पाहुना आउन पाएनन्,’ पराजुलीले भने, ‘भारतीय पाहुना पनि रोकिए। आन्तरिक पाहुना पनि यो बेला कम भए।’ उनका अनुसार केही दिन अघिसम्म भारतीय पाहुनाका कारण पर्यटन क्षेत्रमा केही चहलपहल थियो। तर, अहिले सुनसान जस्तै भएको छ।  

‘बाढीपहिरोले पारेको अप्ठेरो छँदैछ। त्यसले केही दिनका लागि पहुँचमा समस्या पारेकै हो। तर, आन्तरिक पाहुनाको आगमनमा आर्थिक अवस्थाको अप्ठेरो थपिएको अनुमान छ,’ पराजुलीले भने, ‘पछिल्लो समय व्यावसायमा मन्दी देखिएको छ। त्यसको असर आन्तरिक पाहुनाको आगमनमा पनि परेको अनुमान हो।’ उनका अनुसार अबको अझै केहीदिन पाहुना आगमन बढ्ने छैन। किनभने वर्षाको अप्ठेरो अझै केही समय रहनेछ।  

‘पोखरासम्मको पहुँचमा पनि निकै नै समस्या छ। हवाई र स्थलमार्ग त अनिश्चित नै बन्यो। अत्यावश्यक काममा बाहेक मान्छे हिडडुल गर्ने अवस्था छैन,’ उनले भने। 

उनले पर्यटन क्षेत्रमा अबको सिजनमा मात्र पाहुनाको आगमन केही बढ्न सक्ने बताए। सेप्टेम्बरदेखि सुरु हुने सिजनमा बल्ल पाहुनाको चहलपहल बढ्ने अनुमान रहेको उनले सुनाए। ‘विदेशीको सिजन पनि सुरु हुने र अहिलेको वर्षा रोकिने हुँदा आन्तरिक पाहुना पनि बढ्नेछन। भारतीय पनि थपिनेछन। चाँडबाँडले गर्दा पाहुनाको आगमन बढ्नेछ,’ पराजुलीले भने।  

पर्यटन व्यावसायीका अनुसार यो बेला पर्यटकीय गतिविधि खासै हुदैनन्। पदयात्रा पनि वर्षाका कारण कठिन हुने भएकोले पाहुना कम हुने गरेका छन्। त्यसबाहेक वर्षा हुने भएकोले साहसिक पर्यटकीय गतिविधि पनि उत्तिसारो हुँदैनन्। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले भने,‘यो बेला पदयात्राको सिजन होइन। वर्षाका कारण केही महिना पदयात्रा हुँदैन। पाहुना छोटो दूरीको हाईकिङ जाने बाहेक लामो दूरीको पदयात्रामा जाँदैनन्। त्यसले गर्दा यो बेला पाहुना आगमन कम छ।’  

अहिले तेश्रो मुलुकका विदेशी सहित भारतीय र आन्तरिक पाहुना पनि कम भएको टानका अध्यक्ष पन्थीले बताए। ‘पर्यटकीय गतिविधि पनि यो बेला नहुने भएकोले व्यावसायी पनि फुर्सदिला बन्छन्। केहीवर्ष अघिसम्म त यो बेला केही व्यावसाय बन्द नै हुन्थे। अहिले व्यावसाय बन्द नभएपनि पाहुना कम छन,’ अध्यक्ष पन्थीले भने, ‘अहिले त झन पाहुना आउनै सक्ने अवस्था रहेन। मनसुनी वर्षाले गर्दा पहुँचमा समस्या पनि छ। आएका पाहुना पनि फर्किन सक्ने अवस्था छैन। जो जहाँ छ, त्यही रोकिनुपर्ने अवस्था छ। त्यसको असर पर्यटनमा पर्छ।’

प्रकाशित: २४ असार २०८१ १६:४२ सोमबार

‘पर्यटन क्षेत्र मनसुन पोखरा