अर्थ

रेकर्ड राख्ने भन्दै सगरमाथामा मनपरी

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा कस्ता कार्यक्रम गर्न पाउने भन्ने स्पष्ट कार्यविधि नहुँदा त्यहाँ ‘डिजेइङ’ समेत गर्न थालिएको छ। सगरमाथा क्षेत्रमा आरोहण अनुमति दिने आधिकारिक निकाय पर्यटन विभागसँग कार्ययोजना नहुँदा डिजेइङ गर्ने छुटपाएको देखिन्छ। यस वर्षको वसन्त ऋतुमा आरोहीको लर्को लागिरहेका बेला सगरमाथाको क्याम्प २ मा डिजे तेन्जिङ शेर्पाले डिजेइङ गरेका थिए।

उनले नेपाल पर्यटन बोर्डमा आफूले डिजेइङ गर्नेबारेमा जानकारी त गराए तर अनुमति लिएनन्। अनुमति लिने कुनै कार्यविधि नभएकाले जानकारी मात्र गराएको उनी आवद्ध एट के एक्सिपिडिसन कम्पनीले बताएको छ। उनले यसबारे खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पनि अनुमति नलिएको गाउँपालिकाले बताएको छ।

६ हजार चार सय मिटर उचाइमा रहेको सगरमाथा क्याम्प २ क्षेत्रमा गत जेठ ८ गते डिजे शेर्पाले आधा घण्टासम्म डिजेइङ गरेका थिए। उनी सगरमाथा क्षेत्रमा डिजेइङ गर्ने दोस्रो व्यक्ति हुन्। उनीभन्दा अघि सन् २०१७ मा ब्रिटिस डिजे पाल आकेनफोल्डले सगरमाथा आधार शिविरमा डिजेइङ गरेका थिए । उनी त्यसवेला ५३ वर्षका थिए।

यस्तै पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा ‘एभरेष्ट डे’ को अवसर पारेर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण रेस्लिङ खेल खेलाइएको थियो। नेपाल महिला रेस्लिङ फाउन्डेसनले ‘एभरेष्ट डे’ को अवसरमा रेस्लिङ खेल गराएको थियो।

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न चाहनेलाई साथ लिएर फाउन्डेसनले सम्बद्ध कुनै पनि निकायबाट अनुमति नै नलिई कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो। सो स्थानमा रेस्लिङ आयोजना गर्न सम्बन्धित पक्षले सगरमाथा राष्ट्रिय निकुञ्ज र विभागबाट अनुमति लिएका छैनन्।

यस्तै गायक राजु लामाले पनि सन् २०२२ मा सगरमाथाको ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए। उनले जलवायु परिवर्तन र त्यसले विश्वभर पार्ने प्रभावको सन्देश प्रवाह गर्न कन्सर्ट आयोजना गरेको बताएका थिए।

विश्वको सर्वोच्च शिखरमा कार्यक्रम गर्दा विशेष ध्यान दिनुपर्ने पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। ‘कुन ठाउँमा कस्तो कार्यक्रम गर्ने भन्ने कार्यविधि बनाउनु आवश्यक देखिएको छ। सगरमाथामा गर्ने कार्यक्रमको बारेमा त झन् कार्यविधि नभई हुँदैन’ निर्देशक लामिछानेले भने, ‘दिगो पर्यटनको कुरा गरिरहँदा सगरमाथा जस्तो जोखिमपूर्ण क्षेत्रमा गर्ने कार्यक्रमबारे सबैजना संवेदनशील हुनैपर्छ।’

उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको पारिस्थितिक प्राणालीलाई आगामी पुस्तौंपुस्तासम्म जोगाइराख्नु आजको आवश्यकता भएको पनि बताए ।सगरमाथा मध्यवर्ती क्षेत्रका प्रमुख पेन्जो लामाका अनुसार डिजेइङ कार्यक्रमबारे कार्यालयलाई कुनै जानकारी नभएको बताए। ‘सगरमाथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा जानकारी गराए वा गराएनन् थाहा भएन तर हामीलाई यसबारे कुनै जानकारी छैन।’ उनले भने, ‘हामीलाई मात्र होइन, यहाँ भएको कुनै पनि उपभोक्ता समितिलाईसमेत जानकारी छैन।’

उनले सगरमाथा दिवस मनाउने भनेर त्यहाँकै स्थानीय युवा समूहले संस्थागत रूपमा सो कार्यक्रम गरे पनि राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा यसबारे जानकारी नभएको तथा कुनै पनि सहकार्य नगरेको उनले बताए ।

डिजे शेर्पालाई वसन्तकालीन आरोहणका लागि पर्यटन मन्त्री हितबहादुर तामाङले नै मन्त्रालयमा बोलाएर उनको आरोहणको शुभकामना दिएका थिए। साथै मन्त्री तामाङले उनलाई राष्ट्रिय झण्डा पनि प्रदान गरेका थिए।

नेपाल माउन्टेन एकेडेमीका पूर्व कार्यकारी निर्देशक तथा पर्वत र हिमाली संस्कृति प्रवद्र्धनमा चार दशकभन्दा बढी समय समर्पित गरेको लाक्पा फुटी शेर्पाले हिमाल नाम र दामको मात्र नभएर निकै संवेदनशील विषय भएको बताइन। उनले हिमाल आरोहणको विषय मात्र होइन, त्यहाँ हुने हरेक ससाना क्रियाकलपहरूबारे विश्वको चासो रहने हुँदा कुनै पनि कार्यक्रम गर्दा विचार पुर्‍याउनु पर्ने बताइन्।

‘हिमाल चढ्न भन्दा अगाडि सबै आरोहीले यसको पूजा गर्छन्, शक्ति माग्छन्, हिमाललाई मनाउँछन्’, उनी भन्छिन्, ‘नाम, दामसँग मात्र नभएर सम्मानसँग पनि हिमाललाई जोड्दै हिमालजस्तै सफा गतिविधि मात्र गरिनुपर्छ।

उनी थप्छिन्, ‘नाम र दामका लागि कुनै पनि विवाद सिर्जना गर्ने क्रियाकलाप हिमालमा गरिनु हुँदैन्। हिमालय क्षेत्र हिमालय जस्तै कञ्चन हुनुपर्छ।’ उनले सगरमाथा हिमालसँग जोडिएका कुनै पनि कार्यक्रम बारेमा निर्देशिका तयार पर्नुपर्ने बताइन्। यसका लागि सरकारले सरोकारवाला निकायसँग छलफल र समन्वय गरेर हिमालबारे स्पष्ट नीति तर्जुमा गर्नुपर्ने उनको धारणा छ।

उनले सगरमाथा हिमालसँग जोडिएका गरिने कुनै पनि कार्यक्रमहरूका बारेमा निर्देशिका नै तयार पर्नुपर्ने बत्ताइन्। यसका लागि सरकारले सरोकारवाला निकायहरूसँग छलफल र समन्वय गरेर हिमालहरूबारे स्पष्ट कानुनहरू बनाउनुपर्ने उनको धारणा छ।

सगरमाथा क्षेत्रमा आरोहण गर्न विभागबाट अनुमति लिनुपर्छ भने कुनै पनि कार्यक्रम गर्नका विभागलाई जानकारी हुनु पर्छ। तर पछिल्लो समय रेकर्ड राख्ने होडबाजी होस् या चर्चाको लागि सगरमाथा क्षेत्रमा यस्ता विभिन्न अवैधानिक कार्यहरू बढ्दै गएको छ। 

जलवायु परिवर्तन या कुनै निश्चित उद्देश्यका साथ सगरमाथा क्षेत्रमा कार्यक्रमहरू आयोजना गर्दै गर्दा त्यसले विश्वव्यापी रूपमा दिने सन्देशले पनि नेपालको हिमाली क्षेत्रको मूल्याङ्कन हुने हुँदा यस्तो पक्षलाई विचार फु¥र्याउनु एकदमै आवश्यक भएको देखिन्छ। पटक पटक यस्ता गतिविधिहरू सगरमाथामा भइरहँदा पनि यसबारे सरकार, सरोकारवाला निकायले ध्यान दिएको देखिदैन्।

पर्यटन ऐन अन्तर्गत अन्य साहसिक पर्यटकीय क्रियाकलापको अनुमति लिने सम्बन्धमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न अनुमतिको लागि महाशाखामा निवेदन दिनु पर्छ। जसमा साहसिक क्रियाकलापको विवरण, सञ्चालन हुने स्थान, अवधि र सम्भव भएसम्म नक्सा, क्रियाकलापमा संलग्न हुने दलको नेता तथा सदस्यहरूको एक प्रति फोटो सतह व्यक्तिगत विवरण, पासपोर्ट र भिसाको प्रमाणित प्रतिलिपि, प्रति दलका लागि फोहर व्यवस्थापन धरौटी बापत पाँच सय अमेरिकी डलर, अनुमति शुल्क सलामी बापत दुई हजार अमेरिकी डलर लगायत अन्य धेरै प्रक्रिया छन्।

कानुनी पक्षले प्रष्ट व्याख्या नगरेको गतिविधिहरू भइरहँदा पनि सरकार र सरोकारवाला निकायले यसबारे कार्यविधि बनाउन चासो नदेखाएको सरोकारवालको धारणा छ। कानुनले व्याख्या नगरेको यस्ता कुराहरूलाई प्रयोग गरेर पछिल्लो समय सगरमाथामा चर्चाको लागि जे पनि गर्ने कार्य बढेको उनीहरूको बुझाई छ।

अन्तर्राष्ट्रिय रूपमा चर्चित प्रकृति र वन्यजन्तु फोटोग्राफर तासी राप्ते घलेले उच्च हिमाली क्षेत्रमा भइरहेको साङ्गीतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रमले उक्त क्षेत्रमा ध्वनि प्रदूषण गर्ने तथा सो क्षेत्रको पारिस्थितिक प्रणालीलाई कुनै न कुनै रुपमा असर गर्ने बताए। उनले ६ हजार मिटर माथि हिउँ चितुवा, पिका, बिच मार्टिन जस्ता जनवारहरूले कहिलेकाहीँ आवतजावत गर्ने हुँदा उनीहरूको जीवनशैलीलाई प्रभाव पार्न सक्ने बताउँछन्। ‘बढी आवाज र होहल्ला हुने स्थानबाट कुनै पनि हिमाली जनवारहरू आवत जावत गर्न परे त्यस्तो क्षेत्रलाई इग्नोर गर्छ’ उनले भने।

यस्तै वातावरण विज्ञ बटु कृष्ण उप्रेतीका अनुसार जुनसुकै स्थानमा हुने क्रियाकलाप कुनै न कुनै रुपमा वातावरणसँग जोडिएको हुनाले यस क्षेत्रको महत्त्व के को लागि हो भनेर मात्र कार्यहरू गर्न दिनुपर्ने बताए। यति कसैले कानुन विपरीत कार्य गर्छ भने त्यसलाई कारबाही  गरेर त्यस्ता अवैधानिक कार्यहरू रोक्नुपर्ने उनले बताए।

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ। यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन्। र यस सिजनको सगरमाथा आरोहणको समय सकिएको छ। विभागको तथ्याङ्क अनुसार यस बर्ष वसन्तकालीन सिजनमा विभिन्न आरोहण दलबाट आरोही सदस्य तथा क्लाईम्बिङ गाइड गरी ६ सय भन्दा बढिले आरोहण गरेका छन्।

वसन्तकालीन सिजनको लागि सगरमाथा लगायत ३० हिमालका लागि विभागले आरोहण अनुमति दिएको थियो। जम्मा १ हजार २ जनाले हिमाल आरोहणका लागि अनुमति लिएकोमा ७ सय ९२ जना पुरुष र २ सय १० जना महिला रहेका छन्। जसमध्ये सगरमाथा हिमालको लागि मात्र विभिन्न मुलुकका ४ सय २१ जना आरोहीले विभागबाट आरोहणका लागि अनुमति लिएका थिए। जसबाट सरकाले ६८ करोड ९९ लाख ७५ हजार रुपैयाँ राजश्व दस्तुर संकलन गरेको छ।

प्रकाशित: ११ असार २०८१ ०७:५६ मंगलबार

#The highest peak is Mt #DJing #Department-Tourism