अर्थ

भरतपुर भ्रमण वर्षः बसमा ४० प्रतिशत छुट दिने यातायात व्यवसायीको घोषणा

फाइल तस्बिर

भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर चितवनका यातायात व्यवसायीले भाडामा छुट दिने घोषणा गरेका छन्।

चितवनमा सञ्चालन हुने चितवन माइक्रो, चितवन छाहारी, ओम शान्ति यातायात व्यवसायीले बुधवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पूर्वी चितवनबाट आउने यात्रुलाई ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन्।

व्यवसायीले ज्येष्ठ नागरिकलाई शत प्रतिशत छुट दिने बताएका छन्। यो सेवा भरतपुर रिङरोडमा मात्रै लागू हुने छाहारी यातायात प्राक्कालीन अध्यक्ष बद्री पौडेलले जानकारी दिए। ज्येष्ठ नागरिकले सेवा लिनका लागि आफ्नो परिचयपत्र साथमा लिएर आउनुपर्ने उनले बताए।

महानगरपालिका प्रमुख रेनु दाहालले यस कार्यका लागि व्यवसायीलाई धन्यबाद दिइन। उनले भ्रमण बर्ष सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै अन्य व्यवसायीले समन्वय गरेर काम गर्न अनुरोध गरिन।  ‘हामी भ्रमण वर्षको आयोजक मात्र भएका हौँ,उनले भनिन्,सफल बनाउन लाग्नुपर्ने तपाईहरुको हो,व्यवसायीले होस्टेमा हैँसे गर्नुहोस्।’ उनले भ्रमण वर्षको चार महिना सफल भएको दाबी समेत गरिन।

यस्तै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका भरिनै यातायातमा छुट दिनका लागि अनुरोध गरे। पर्यटकीय गन्तव्य स्थलमा पर्यटक पुग्नका लागि यातायातको व्यवस्था राम्रोसँग गर्न समेत उनले अनुरोध गरे। पूर्वी चितवनबाट भरतपुरसम्म करिब डेढ सय सार्वजनिक बस सञ्चालन हुँदै आएका छन्।

प्रकाशित: ५ असार २०८१ १७:११ बुधबार

#Bharatpur Visit Year