अर्थ

मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट अनुमान गरेको छ।

मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा शनिबार राती प्रस्तुत गरेको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.५५ प्रतिशत र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ प्रतिशत बजेट विनियोजन गरिएको छ।

सरकारले आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड, ३० लाख, वित्तीय हस्तान्तरण अनुदानतर्फ वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब, ७९ करोड, ९२ लाख तथा सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख र संघीय राजस्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लख ७० हजार अनुमान गरेको छ।

मधेस प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेस, बुझौं मधेस’ अभियान सञ्चालन गर्ने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री साहले अभियान सञ्चालनको घोषणा गरेका हुन्।

सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

मुख्यमन्त्री हरित प्रदेश अभियान अन्तर्गत एक करोड वृक्षारोपण गर्ने, हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरण सहितको एम्बुलेन्स सेवा, पूर्ण साक्षर मधेस प्रदेश लगायतका लोकप्रिय योजना नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रकाशित: १ असार २०८१ २२:२९ शनिबार