अर्थ

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीबार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन। 

उनले शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन । त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई सङ्क्रामक रोगको रुपमा पनि घोषणा गरेको छ ।

आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन । सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति भएको पनि जानकारी गराइन।

मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर रायलाई तोक्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ र ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत गरेको छ । 

प्रकाशित: २५ जेष्ठ २०८१ १६:४१ शुक्रबार

#Council of Ministers meeting #Dr. as a member of the National Planning Commission. Ramesh Prasad Singh #Rekha Sharma Minister of Communication and Information Technology and Spokesperson of the Government of Nepal