अर्थ

उद्योगपतिद्वारा किसानको अर्बौं ‘होल्ड’

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको मूलगेटमा शनिबार आमरण अनशनमा सुरु गरेका वडाध्यक्ष शेष मेहबुब रेजा तथा उनको समर्थनमा अनशन स्थनमा भेला भएका किसान । तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – एक साताअघि घुर्कौलीका उखु किसान बीरबहादुर लामा हरिवनस्थित मेगा बैंकमा चेक बोकेर पुगे । ‘खै मेरो उखुको पैसा निकालिदेऊ त,’ बैंकका कर्मचारीलाई चेक दिँदै उनले आफ्नै लबजमा आग्रह गरे।

तर बैंकका कर्मचारीले इन्दुशंकर चिनी उद्योगले खातामा पैसा नहालेको भनेपछि उनी जंगिए, ‘किन छैन ? हामी भोकभोकै मर्ने ? चाँडो पैसा देऊ !’ हट्टाकट्टा एवं अजंग शरीरका लामाले हप्कीदप्की गरेपछि बैंक कर्मचारीले सुरक्षा गार्डलाई बोलाएर सम्झाउन लगाए । १५–२० मिनेट सम्झाएपछि मात्र उनी इन्दुशंकरतर्फ सोझिए।

‘उखुको भुक्तानी समयमै नपाउँदा कतिपय किसानले तय भइसकेको छोरीको विवाह समेत गर्न पाएका छैनन्,’ धनगढाका किसान लक्ष्मण रायले गुनासो गरे, ‘खर्च अभावमा तराईबासीले हरेक वर्ष महत्वपूर्ण रुपमा हर्षोल्लासका साथ मान्ने होली पर्व समेत यस वर्ष खल्लो भयो ।’हो, यस वर्ष उखुको भुक्तानी समयमै नपाउँदा लामाको पीडा र रायले भनेजस्तो मर्काबाट हजारौं किसान छटपटिइरहेका छन्।

‘वर्ष दिनको बाली दिएबापत समयमै भुक्तानी नपाउँदा किसानको दैनिक जीवन नै गाह्रो बनेको छ,’ उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरे, ‘उद्योगपतिले किसानलाई भुक्तानीमा झुलाउने, मूल्य निर्धारणमा बखेडा झिक्ने लगायत अनेक बहानामा शोषण गरिरहेका छन् ।’ उद्योगपतिद्वारा किसानमाथि हुँदै आएको शोषणलाई सरकारले टुलुटुलु हेरेर पक्षपोषण गरिरहेको अध्यक्ष मैनालीको आरोप छ ।पुस पहिलो साताबाट सञ्चालनमा आएको हरिवनस्थित इन्दुशंकरले शुक्रबारसम्म किसानको ३४ लाख क्विन्टलभन्दा बढी उखु लिएर चिनी बनाइसकेको छ।

विगत वर्षहरुमा १५ देखि २० दिनभित्र उखुको भुक्तानी गर्ने गरेको इन्दुशंकरले यस वर्ष पौने तीन महिनासम्म पनि किसानको पैसा रोकेर राखेको छ । पुस १६ गतेसम्म किसानबाट लिएको उखुको मात्र भुक्तानी गरिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । पुस १६ गतेसम्मको उखुको २० करोड रुपैयाँ र अत्यावश्यक कामका लागि पेस्कीबापत थप सात करोड भुक्तानी गरिएको उद्योग व्यवस्थापनले जनाएको छ।

इन्दुशंकरले हालसम्म क्रसिङ गरेको उखुको परिमाण अनुसार पछि थप हुने गरी हाललाई तय भएको न्यूनतम प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसाको दरले एक अर्ब ८० करोड ६० लाख ८० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ।

जिल्लाको पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलले पनि १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको छ । उसले पनि किसानलाई भुक्तानी गर्नुपर्ने ५३ करोड १२ लाख रुपैयाँ पुगिसक्यो । दुवै उद्योगले किसानलाई दिनुपर्ने रकम दुई अर्ब ३३ करोड ७२ लाख ८० हजार रुपैयाँ पुगिसकेको छ । तर, हालसम्म, इन्दुशंकरको दाबी मान्ने हो भने पनि किसानले २७ करोड रुपैयाँ मात्र पाएका छन्।

‘समयमै भुक्तानी नगरी उद्योगपतिले ठूलो रकम ‘होल्ड’ गर्दा किसान छटपटिइरहेका छन्,’ उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले भने, ‘किसानको अर्बौं रकम होल्ड गरेर उद्योगपति भने ब्याज खाँदै बसेका छन् ।’ एक बिघा क्षेत्रफलमा उखु खेती गरी उद्योगसम्म पु¥याउँदा एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने किसान बताउँछन्।

पोहोर कात्तिकमा ऋण खोजेर लगाएको उखु बल्ल यस वर्ष माघमा काटेर बिक्री गरेका किसान समयमै भुक्तानी नपाउँदा मर्माहत बनेका छन् । ‘किसान उखु खेती गर्दा लिएको लाखौं ऋणको ब्याज तिर्दैमा हैरान छन्,’ महासंघ अध्यक्ष मैनालीले भने, ‘उद्योगपतिले किसानको पैसा रोकेर ब्याज कमाउने यो कस्तो बिडम्बना हो ?’ उद्योगपतिले समयमै किसानलाई भुक्तानी नदिई ठूलो रकम होल्ड गर्ने र करोडौं ब्याज कमाइ गर्ने गरेको जानकार बताउँछन्।

सर्लाहीबाटै रौतहट, महोत्तरी, बारा लगायत जिल्लास्थित उद्योगमा समेत उखु गएको र ती उद्योगबाट समेत नियमित भुक्तानी नभएकाले जिल्लास्थित किसानको हालसम्म पाँच अर्ब रुपैयाँभन्दा बढी रकम उद्योगपतिले ‘होल्ड’ गरेको अनुमान गरिएको छ।

उद्योगपतिले जहिल्यै किसानलाई हेलाँ गर्ने गरेको नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले आरोप लगाए । ‘हरेक वर्ष उखुको मूल्य निर्धारणमा बखेडा गर्ने उद्योगपतिले यस वर्ष त भुक्तानी समेत नदिएर किसानलाई ठूलो पीडा दिइरहेका छन्,’ उनले भने, ‘किसानको बिल्लीबाठ भइसकेको छ ।’तत्काल भुक्तानीका लागि किसान सम्बद्ध संघ–संगठनले पहलकदमी पनि गरिरहेका छन्।

आफूहरुले केही दिनअघि मात्र अर्थमन्त्री युवराज खतिवडा र अर्थ मन्त्रालयका सचिव, उद्योग सचिव लगायतलाई काठमाडौंमा भेटेर किसानलाई दिनुपर्ने बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको महासंघ अध्यक्ष मैनालीले जानकारी दिए । ‘अर्थमन्त्री, सचिव र उद्योग सचिवलाई भेटेर किसानको पीडा सुनायौं र तत्काल भुक्तानीको व्यवस्था मिलाउन आग्रह गर्‍यौं,’ उनले भने, ‘कार्यदल गठन गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएका छौं ।’ हाललाई यसअघि भएको न्यूनतम मूल्य अविलम्ब भुक्तानी गर्र्ने व्यवस्था मिलाउन र यस वर्षका लागि प्रतिक्विन्टल पाँच सय ६२ रुपैयाँ मूल्य कायम गर्न आग्रह गरिएको मैनालीले जानकारी दिए।

त्यस्तै, मिलगेट उखु उत्पादक समिति हरिवन, नेपाल उखु किसान संघ लगायत विभिन्नसंघ–संगठनको आह्वानमा हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको मूलगेट अगाडि चैत पहिलो साता रिले अनशन समेत सुरु भएको छ । ‘तत्काल भुक्तानीका लागि दबाब दिने उद्देश्यले अनशन सुरु गरेका हौं,’ मिलगेट संघका अध्यक्ष बेदबहादुर बुढाथोकीले भने, ‘भुक्तानी सुरु नभएसम्म अनशन जारी राख्छौं।’

इता, इन्दुशंकरका उखु प्रबन्धक रजक भने किसानको भुक्तानी सुरु गर्न अथक प्रयास भइरहेको बताउँछन् । ‘एकातिर उद्योगको चिनी बिक्री नभएका कारण र अर्कोतिर बैंकिङ प्रक्रियामा ढिलाइ हुँदा किसानलाई भुक्तानी गर्न सकेका छैनौं,’ उनले भने, ‘यथाशीघ्र भुक्तानी सुरु गर्ने प्रयासमा छौं।’

पाकिस्तान र बंगलादेशबाट सस्तो मूल्यको चिनी आयात हुँदा आफूहरुको चिनी बिक्री नभएकाले पनि किसानको भुक्तानीमा समस्या आएको रजकले जानकारी दिए । ‘अन्य देशका सरकारले चिनी निर्यातमा अनुदान दिएकाले मुलुकमा विदेशी चिनी अत्यन्त सस्तोमा भित्रिएको छ, अनि हाम्रो चिनीले भाउ नै पाउन सकेको छैन,’ उनले दाबी गरे, ‘विदेशी चिनी सरह बिक्री गर्दा उखु किसान, मजदुर लगायतलाई भुक्तानी दिनै सक्दैनौं।’

बगदहमा यसै वर्ष क्रसिङको ट्रायल समेत गरिसकेको अर्को महालक्ष्मी सुगर मिल समेत गरी तीनवटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुन्छ ।


 

प्रकाशित: ११ चैत्र २०७४ ०२:५० आइतबार