अर्थ

नेपालमा महिला सहभागीता देखेर इजरायली टोली उत्साहित

महिला उद्यमीसँग सहकार्य गर्न तयार

इजरायलका महिला उद्यमीहरुले राज्यका हरेक क्षेत्रमा नेपाली महिलाहरुको सहभागीता उल्लेख्य रहेकोप्रति प्रशंसा गरेका छन् ।

महिला उद्यमी महासंघको निमन्त्रणमा दुई दिने भ्रमणका लागि नेपाल आएको इजरायलको  चेम्बर्स अफ कमर्शका प्रतिनिधिमण्डलले राजनीतिदेखि उद्योगलगायत क्षेत्रमा नेपाली महिलाहरुको सहभागीताको खुलेरै प्रशंसा गरेका हुन् । इजरायलका १८ महिला उद्यमी नेपाल आएका हुन् ।

नेपाली महिला उद्यमीसँगको भेटमा इजरायली चेम्बर अफ कमर्शका अध्यक्ष एनट बर्नस्टिन रिचले नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागीता विश्वकै लागि उदाहरणीय रहेको बताइन् । महिला उद्यमी महासंघी अध्यक्ष शोभा ज्ञवालीका अनुसार, अध्यक्ष रिचले इजरायलमा शिक्षा, रोजगारी, व्यापार, उद्योग लगायतमा महिला सहभागीता उल्लेख्य रहेपनि राजनीतिमा १० प्रतिशतमात्रै उपस्थिति हुनु चिन्ताको विषय भएको बताएकी थिइन् । सहभागीता बढाउन प्रयासरत रहेको उनको भनाइ थियो ।

इजरायली प्रतिनिधिमण्डलसँगको भेटमा नेपाली महिला उद्यमीहरुले प्राविधिक सहायता, प्रशिक्षण कार्यक्रम, लगानीका अवसर, विनिमय कार्यक्रमलगायतबारे जानकारी लिएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । आपसी सहायता र पारस्परिक हितका लागि सहकार्य गर्न दुवै पक्ष सहमत भएको उल्लेख गर्दैै उनले इजरायलको अत्याधुनिक कृषि प्रणाली र पर्यटनको क्षेत्रमा नवीन रणनीति नेपालका लागि अनुकरणीय रहेको बताइन् ।

नेपाली महिला उद्यमीलाई नवीनतम सीप र ज्ञानको साथ सशक्तिकरण गर्न कार्यशालाहरू र प्रशिक्षण सत्रहरू सञ्चालन आवश्यक रहेको इजरायली प्रतिनिधिमण्डलको भनाइ थियो ।

भ्रमणका क्रममा उनीहरुले उन्नतर आधुनिक कृषि प्रणाली, कृषि र पर्यटनको क्षेत्रमा लगानी, आपसी सिकाइ र सांस्कृतिक आदानप्रदान आवश्यक रहेकामा जोड दिएका थिए ।

जवाफमा नेपाली महिला उद्यमीले सम्भावित अवसरबारे इजरायलसँग छलफल गर्न तयार रहेको जानकारी गराएको अध्यक्ष ज्ञवालीले बताइन् ।

प्रकाशित: १५ जेष्ठ २०८१ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App