अर्थ

यार्सा संकलकबाट एक करोड राजस्व

बहुमूल्य जडीबुटी यार्सा टिप्न जानेहरूबाट सरकारले एक करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। डोल्पाका पाटन क्षेत्रमा यो वर्ष यार्सा संकलक सात हजार चार सयजना पुगेका छन्। उनीहरूबाट एक करोड २५ लाख ८७ हजार पाँच सय रूपैयाँ राजस्व असुली भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार यार्सा संकलकर्ता आएका थिए। उनीहरूबाट ८५ लाख रूपैयाँ राजस्व संकलन भएको थियो। तर यस पटक गत वर्षको तुलनामा यार्सा संकलन र राजस्व दुवै बढेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए।

 गत वर्षको तुलनामा यो पटक दोब्बर यार्सा संकलक पाटन प्रवेश गरेका र राजस्व पनि गत वर्षको तुलनामा झन्डै ४१ लाख रूपैयाँ बढी संकलन भएको उनले बताए। यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका–२०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति पाँच सय र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति दुई हजार र डोल्पा जिल्लाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति तीन हजारका दरले प्रवेशशुल्क उठाएको वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ।

कुल संकलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने व्यवस्था उल्लेख गरिएको छ। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयले यार्सा संकलक र राजस्व विवरणको विस्तृत विवरणअनुसार डोल्पाको तोइजम क्षेत्रबाट १५ सय यार्सा संकलक पाटन प्रवेश गरेको र त्यहाँबाट १५ लाख राजस्व उठेको छ।

यस्तै मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रबाट सय जना यार्सा संकलक पाटन प्रवेश गर्दा एक लाख ९४ हजार राजस्व उठेको छ। त्यसैगरी शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट दुई हजार ४१ जना यार्सा संकलक पाटन प्रवेश गरेका र उनीहरूबाट २९ लाख ७४ हजार पाँच सय राजस्व संकलन भएको निकुञ्जले जनाएको छ।

डोल्पाको क्षेप्का क्षेत्रबाट ४७३ जना यार्सा टिप्न पाटन जाँदा तीन लाख ७९ हजार राजस्व असुली भएको छ। फोक्सुन्डो तालको रिम्मु क्षेत्रबाट १०३ जना यार्सा संकलक पाटन प्रवेश गरेका र उनीहरूबाट एक लाख ७७ हजार राजस्व उठेको छ। डोल्पाको त्रिपुरा क्षेत्रबाट ४५० जना यार्सा संकलक पाटनतर्फ जाँदा तिनीहरूबाट दुई लाख ५५ हजार राजस्व असुली भएको छ।

त्यसैगरी डोल्पाको दोरेन्ज पोस्टबाट २७ सय जना यार्सा संकलक पाटन जाँदा ७० लाख ३७ हजार राजस्व संकलन भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ। मुगु जिल्लाको तुलनामा डोल्पा यार्साबाट बढी राजस्व असुली हुने गरेको छ। डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न करिव सात जिल्लाका स्थानीय प्रवेश गर्ने गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ ०८:२२ मंगलबार

Revenue Collection Valuable Herb Yarsa