ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथीभरा याङवरकको बेरुजु शुन्य रहेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।
महालेखाका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ५ स्थानीय तहको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङको पाथिभरा याङवरक, पाँचथरको याङवरक, काभ्रेको महाभारत, धादिङको बेनिघाट र ललितपुरको कोज्योसिम गाउँपालिकाको बेरुजु शुन्य रहेको छ।
यसको अर्थ उल्लिखित पाँचवटै स्थानीय तहमा आर्थिक वर्ष २०७९।८० को लेखा परीक्षणसम्ममा बेरुजु रकम छैन। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथिभरा याङवरकको बेरुजु शुन्य भएको छ। पाथिभरा याङवरकको ९८ करोड ७१ लाख ३६ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो।
यस्तै मेरिङदेन गाउँपालिकाको बेरुजु पाथीभरा याङवरकपछि ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा कम रहेको पाइएको छ। ०.६० प्रतिशत बेरुजु कायम रहेको मेरिङदेन गाउँपालिकाको ५७ लाख १६ हजार रकम बेरुजु कायम रहेको छ।
मेरिङदेन गाउँपालिकाको ९५ करोड ३० लाख ६० हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। कुल लेखा परीक्षण गरिएको रकममध्ये बेरुजु १.५१ प्रतिशत रहेको आठराई त्रिवेणी गाउँपालिकाको बेरुजु १ करोड ५३ लाख ३१ हजार रुपैयाँ कायम भएको छ।
सो पालिकाको १ अर्ब १ करोड ५४ लाख ६९ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। १.६७ प्रतिशत बेरुजु कायम रहेको सिरिजङ्गा गाउँपालिकाको बेरुजु रकम १ करोड ६७ लाख ७० हजार रुपैयाँ कायम भएको छ।
सिरिजङ्गा गाउँपालिकाको १ अर्ब ५४ लाख ९५ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। २.०२ प्रतिशत बेरुजु कायम रहेको फुङलिङ नगरपालिकाको ३ करोड २२ लाख ३८ हजार रुपैयाँ बेरुजु कायम भएको छ। फुङलिङ नगरपालिकाको १ अर्ब ५९ करोड ७७ लाख ८२ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो।
मैवाखोला गाउँपालिकाको बेरुजु रकम २ करोड ७ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। कुल ८८ करोड ३१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा त्यसमध्ये मैवाखोलाको २.३६ प्रतिशत बेरुजु कायम रहेको देखिएको छ।
८६ करोड १७ लाख ८२ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा मिक्वाखोला गाउँपालिकाको बेरुजु २ करोड १३ लाख ३७ हजार रुपैयाँ कायम रहेको छ। लेखा परीक्षण गरिएको अंकका आधारमा मिक्वाखोलाको बेरुजु २.४८ प्रतिशत देखिएको छ।
सिदिङ्वा गाउँपालिकाको बेरुजु लेखा परीक्षण गरिएको रकममध्ये ४.२३ प्रतिशत कायम भएको छ। सिदिङ्वा गाउँपालिकाको बेरुजु ३ करोड ३७ लाख ६७ हजार रुपैयाँ रहेको छ। सो गाउँपालिकाको ७९ करोड ९१ लाख ४३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको गरिएको थियो।
फक्ताङलुङ गाउँपालिकाको बेरुजु ६.१२ प्रतिशत कायम रहेको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार सो गाउँपालिकाको बेरुजु ५ करोड ५७ लाख ९७ हजार रुपैयाँ कायम भएको छ। फक्ताङलुङ गाउँपालिकाको ९१ करोड २१ लख ८ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो।
प्रकाशित: १४ जेष्ठ २०८१ ११:५९ सोमबार