अर्थ

सहकारी ठग्ने शर्माविरुद्ध ३३ अर्बको मुद्दा तयारी

विभिन्न सहकारीबाट सर्वसाधारणको अर्बौं रुपैयाँ निक्षेप दुरुपयोग गरेका शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालगायत विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब ३३ अर्ब रुपैयाँको बिगोसहित मुद्दा चलाउने तयारी गरेको छ।

सहकारीको रकम दुरुपयोग गरेको आरोपमा प्रहरी हिरासतमा रहेका शर्मा, उनकी पत्नी गीतासहित आठजना र कम्पनीविरुद्ध विभागले ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गर्न प्रतिवेदन तयार गरेको हो।

विभागले तयार गरेको प्रतिवेदन सरकारी वकिल कार्यालय भक्तपुर पठाएको छ। विभागका अनुसार प्रतिवेदनमा मुख्य कसुरदार शर्माविरुद्ध २२ अर्ब ८१ करोड ९२ लाख रूपैयाँ बिगो, उनकी पत्नी गीताविरुद्ध ५२ करोड ३३ लाख रूपैयाँ, सविना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाड, पुष्कर मल्ल, सुशील बानियाँ, प्रदिप भट्टराईसहित केदार र शर्मा तथा गीताका नाममा दर्ता भएका कम्पनीविरुद्ध ९ अर्ब ५६ करोड २६ लाख रूपैयाँ बिगो दाबी गरिएको छ। विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर गरे पनि मुख्य नाइके शर्मा हुन्। शर्माले गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएको विभागले जनाएको छ।

विभागले विगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी २ देखि १५ वर्ष कैद तथा शुद्धीकरण गरिएको बिगो जफत गर्ने माग दाबी गरिएको जनाएको छ। प्राकृतिक व्यक्तिका हकमा ५ गुणासम्म सजाय र बिगो जफल सजाय हुने उसले जनाएको छ।

शर्मामाथि शिवशिखर र तुलसी बचत तथा ऋण सहकारी संस्थामार्फत मुलुकका ३५ बढी जिल्लामा शाखा विस्तार गरेर वचतकर्ताको अर्बौं रूपैयाँ अपचलन गरेको आरोप छ। शर्माले सहकारीको रकम दुरूपयोग गरी गैरकानुनी रूपमा धन आर्जन गरेको पाइएपछि मुद्दा दायर गर्न लागिएको विभागले जनाएको छ।

शर्माले २२ अर्ब ८१ करोड रुपैयाँ, उनकी पत्नी गीताका नाममा दर्ता भएका कम्पनीमार्फत ९ अर्ब ५६ करोड रूपैयाँ शुद्धीकरण गरिएको अनुसन्धानमा फेला परेको विभागको दाबी छ। शर्माविरुद्ध सहकारीको रकम दुरूपयोग गरेको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको भए पनि सम्पत्ति शुद्धीकरण विभागले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भेटिएपछि मुद्दा दायर गर्न लागेको हो। शर्माले शिखर अर्गनाइजेसन, शिवशिखर एग्रोलगायत एक दर्जन बढी कम्पनी खडा गरेर करिब ५ अर्ब १३ करोड रूपैयाँ, गार्डेन मार्ट, तुलसी मोटर पम्प, तुलसी अनुसन्धान केन्द्र, तुलसी राइस एन्ड च्युरा उद्योगलगायत कम्पनीका नाममा १ अर्ब १६ करोड रूपैयाँ कृत्रिम ऋणमार्फत अपचलन गरेको अनुसन्धानमा भेटिएको छ।

शर्माको नेतृत्वका शिव शिखर र तुलसी सहकारीका पीडितले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ११ अर्ब रूपैयाँ भन्दा बढीको मागदाबी गर्दै आवेदन दिएका छन्। आवेदन आउनेक्रम जारी रहेको समितिले जनाएको छ।

शर्माले सहकारीको रकम व्यक्तिगत कम्पनीमा लगेर स्वदेश मात्र नभएर विदेशमा पनि कम्पनी खडा गरेर कारोबार गरेको अनुसन्धानमा खुलेको छ। शर्माले म्यानमारको यांगुनमा न्यु गोल्डेन एभरेस्ट, भारतमा नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड दर्ता गरेर कारोबार गर्दै आएका छन्। शर्माले बैंकबाट पनि करिब ५ अर्ब रूपैयाँ कर्जा लिएको पाइएको छ।  

प्रकाशित: १२ जेष्ठ २०८१ ०६:१२ शनिबार

Misappropriation of billions of rupees of deposits Allegation of misappropriation of cooperative funds