कृत्रिम बौद्धिकता (एआई) प्रविधिका ठुला कम्पनीलाई धेरै ‘कम्युटिङ पावर’ आवश्यक पर्ने हुँदा उनीहरूले पछिल्ला महिनामा यो क्षेत्रमा ठुलो स्तरमा लगानी गरेका छन्।
विगत तीन महिना अर्थात् जनवरीदेखि मार्चसम्म अल्फाबेट (गुगलको कर्पोरेट अभिभावक), अमेजन र माइक्रोसफ्ट जस्ता विश्वका क्लाउड–कम्प्युटिङ क्षेत्रका नामुद कम्पनीले यस क्षेत्रमा सामूहिक रूपमा ४० अर्ब अमेरिकी डलर लगानी गरेका छन्। आफ्ना डाटा सेन्टरमा एआईलाई आत्मसात् गर्न यी कम्पनी तम्तयार देखिएका छन्।
आफ्नै ‘क्लाउड’ सेवा नभएको फेसबुकको अभिभावक कम्पनी मेटाले सामाजिक सञ्जालमा रहेको आफ्नो साम्राज्य कायम राख्न यो वर्ष ४० अर्ब अमेरिकी डलरभन्दा बढी रकम एआईसम्बद्ध परियोजनामा लगानी गर्ने बताएको छ।
यो रकम प्रमुख तेल उत्पादक देश साउदी अरेबियाको कम्पनी साउदी अरामकाले यो वर्ष लगानी गर्ने ५० अर्ब अमेरिकी डलरभन्दा कम हो। माइक्रोसफ्टले यस क्षेत्रमा अझ धेरै लगानी गर्ने सभावना छ।
त्यसो त उच्च पुँजीगत लगानी गर्ने तेल कम्पनीसँग एआई कम्पनीको तुलना गर्न मिल्दैन। तर एआईलाई प्रशोधन गर्न ठुलो ऊर्जाको आवश्यकता रहन्छ। यो प्रशोधन शक्ति हासिल गर्न ठुलो मात्रामा बिजुली चाहिन्छ।
पछिल्ला दिनमा डाटा–सेन्टर विकासकर्ता कम्पनीले कैयौं गिगावाट ऊर्जा माग गरेको अमेरिकाको सबैभन्दा ठुलो सार्वजनिक कम्पनी डोमिनियन इनर्जीका प्रमुख कार्यकारी बब ब्लुले गत मे २ मा बताएका थिए। यो कम्पनीको स्थापित क्षमता ३४ गिगावाट मात्र हो।
जेपी मोर्गन चेस बैंकको आकलनअनुसार माइक्रोसफ्ट, अमेजनको क्लाउड प्रभाग एडब्लुएस, अल्फाबेटा, मेटा र माइक्रोसफ्टले सन् २०२२ मा ९० टेरावाट आवरबराबरको ऊर्जा खपत गरेका थिए। यो खपत दक्षिण अमेरिकी देश कोलम्बियाले गर्ने कुल ऊर्जा खपतबराबर हो। यो आकलन सन् २०२२ को नोभेम्बरमा च्याट जिपिटीले सुरु गरेको एआई क्रान्तिभन्दा अघिको हो।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को पूर्वानुमानअनुसार अत्यधिक ऊर्जाको माग राख्ने एआई तथा क्रिप्टोकरेन्सीले सन् २०२६ सम्म ८०० टेरावाट आवर ऊर्जा खपत गर्नेछन्।
यो सन् २०२२ को भन्दा दुई गुणा बढी हो। बिसिजी नाम गरेको एक परामर्शदाता कम्पनीका अनुसार सन् २०३० सम्म अमेरिकाको कुल ऊर्जा खपतमा डाटा प्रशोधनको हिस्सा ७.५ प्रतिशत पुग्ने छ।
ऊर्जाको स्रोत स्वच्छ हुनुपर्नेमा प्रविधिका यी दिग्गज कम्पनीको जोड छ। गत अप्रिलमा यी उद्योगमा आबद्ध संघले जर्जिया पावरलाई फास्ट ट्र्याकमा अत्यधिक कार्बन उत्सर्जन गर्ने जीवाश्म इन्धनमा आधारित प्लान्टबाट १.४ गिगावाट ऊर्जा उत्पादन गर्ने योजना अगाडि बढाउँदा रोक्न चेतावनी दिएका थिए।
संघले त्यसो गरे दक्षिण अमेरिकी राज्यमा यस प्रकारका डाटा सेन्टर सीमित रूपमा स्थापना गरिने बताएको थियो। बढ्दो विद्युतीय यातायात, तताउने प्रयोजन, ठुलो उद्योग, डिजिटल प्रविधिलाई आवश्यक पर्ने ऊर्जालगायत आवश्यकता पूरा गर्ने क्रममा बिजुली उत्पादन र वितरण गर्ने व्यवसायका लागि ठुलो दबाब सिर्जना भइरहेको छ।
‘इनफरमेसन फर्म ब्लुमबर्ग एनइएफ’का अनुसार सन् २०५० सम्म ग्लोबल विद्युत् ग्रिडलाई पूर्ण रूपमा कार्बनविहीन पार्न सन् २०२२ मा यस क्षेत्रमा रहेको ३०० अर्ब अमेरिकी डलरको लगानी बढाएर सन् २०३० मा प्रतिवर्ष ६०० अर्ब र सन् १९५० मा ८०० अर्ब पु¥याउन आवश्यक छ।
यो सन्दर्भमा प्रविधिसँग सम्बन्धित ठुला कम्पनीले हरित ऊर्जा खरिद सम्झौतालाई अगाडि बढाउन भूमिका निर्वाह गर्न सक्ने देखिएको छ। यिनै कम्पनीका कारण विगतमा वायु तथा सौर्यजस्ता नवीकरणीय ऊर्जाको विकास भएको थियो। उनीहरू अब प्रत्यक्ष रूपमा हरित ऊर्जा रूपान्तरणमा सहभागी बनेका छन्।
गत १ मेमा माइक्रोसफ्ट र विश्वको सबैभन्दा ठुलो पूर्वाधार लगानीकर्ता कम्पनी ब्रुकफिल्डले अमेरिका र युरोपमा सन् २०३० सम्म १०.५ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने घोषणा गरेका थिए। यो घोषणाले शून्य कार्बन उत्सर्जन गर्ने स्रोतबाट ऊर्जा प्राप्त गर्ने यी सफ्टवेयर कम्पनीको उद्देश्य पूरा हुने छ।
माइक्रोसफ्ट र ब्रुकफिल्डले यो ऊर्जा उत्पादनका लागि कति लगानी गर्नेछन् भनेर खुलासा गरेका छैनन् तर वायु र घामबाट एक गिगावाट ऊर्जा उत्पादन गर्न लगभग एक अर्ब अमेरिकी डलर लाग्ने आकलन छ।
सूर्यको प्रकाश र हावाको प्रवाह नभएको बेला पनि डाटा सेन्टरहरूले स्थिर दरमा ऊर्जा उपभोग गर्छन्। यही कारणले प्राविधिक कम्पनी यो अवस्थामा माग पूरा गर्न डाटा प्रोसेसिङलाई नयाँपन दिन प्रयासरत छन्। त्यसका लागि माइक्रोग्रिड्स, उपयुक्त ब्याट्री र उन्नत सफ्टवेयरको विकासमा जोड दिने तयारी छ।
गत मार्चमा अमेजनको क्लाउड प्रभाग एडब्लुएसले पेन्सिल्भेनियामा रहेको ९६० मेगावाटको डाटा सेन्टरका लागि आवश्यक ऊर्जा खरिद गर्न नजिकै रहेको आणविक ऊर्जा कम्पनीलाई ६५ करोड अमेरिकी डलर तिरेको थियो।
माइक्रोसफ्टले अमेरिकाको सबैभन्दा ठुलो आणविक अपरेटर, कन्स्टेलेसन एनर्जीसँग ऊर्जा आपूर्तिका लागि सम्झौता गरेको छ। वायु र सौर्य ऊर्जा उपलब्ध नहुँदा ब्याकस्टपको रूपमा भर्जिनियामा रहेको डाटा सेन्टरका लागि यो आणविक ऊर्जाको प्रयोग गरिने बताइएको छ।
गुगलले जमिनमुनिका तातोमा आधारित ‘जिओ–थर्मल’ ऊर्जाको विकासलाई जोड दिएको छ। यो कम्पनीले सो उद्देश्यका लागि फर्माे नामक स्ट्राटपअप कम्पनीसँग सम्झौता गरिसकेको छ। अमेरिकाले सन् २०५० सम्म जिओ–थर्मल ऊर्जा उत्पादनलाई २० गुणाले बढाउने तयारी गरेको छ।
गुगल र माइक्रोसफ्टले पनि धेरै बिजुली खपत गर्ने स्टिल मिनी मिलहरूको विशाल अमेरिकी अपरेटर नुकोरसँग मिलेर काम गरेका छन्। गत मार्चमा यी तीन कम्पनीले संयुक्त रूपमा स्वच्छ–ऊर्जा परियोजना सञ्चालन गर्ने सम्झौता गरेका थिए।
यो सम्झौताले दीर्घकालीन ऊर्जा भण्डारण, क्लिन हाइड्रोजन, नेक्स्ट जेनरेसन जियो–थर्मल ऊर्जा उत्पादन र आणविक ऊर्जाजस्ता आशाजनक प्रविधिको विकासमा योगदान दिने विश्वास गरिएको छ।
ओमनएआईका प्रमुख साम अल्टम्यानले हेलियन नाम गरेको परमाणु फ्युजन स्ट्राटअपमा लगानी गरेका छन्। यसैगरी, न्युक्लियर माइक्रो रियाक्टरको स्थापनाका लागि रकम जुटाउने अभियानमा पनि उनी लागेका छन्।
–इकोनोमिस्ट
प्रकाशित: ५ जेष्ठ २०८१ ०६:२८ शनिबार