अर्थ

ग्लोबल बैंकलाई ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो।

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो।

ग्लोबल फाइनान्स म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो।

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीन सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्नेछ।  

प्रकाशित: १ जेष्ठ २०८१ ०९:१७ मंगलबार

Best Bank Award Global IME Bank