अर्थ

आगलागीका पीडितलाई नेपाल लाइफको सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। 

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राइन, कम्पनीका कर्मचारी तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा त्यहाँका पीडितलाई प्रत्येक घरमा एक थान साडी वितरण गरिएको हो। 

हस्तान्तरण कार्यक्रममा सहभागी मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे।  

वडा अध्यक्ष कलिम राइनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताए। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए। 

प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिँदा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको बताए।

कम्पनीले शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप, बिमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको कुरा समेत बताए ।

प्रकाशित: २८ वैशाख २०८१ ०९:५१ शुक्रबार

#Nepal Life Insurance Company #Fire victims #Distribution of relief materials