अर्थ

तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आजबाट

मेलाकाेबारे जानकारी दिन गरिएकाे पत्रकार सम्मेलन । फाइल तस्बिर

काठमाडौं– महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ आज (बिहीबार) सुरु हुँदैछ। 

पाँच दिन चल्ने यो अन्तर्राष्ट्रिय मेलामा स्वदेशी, सार्क र युरोपेली मुलुकका ५० भन्दा बढी महिला उद्यमी सहभगाी हुनेछन्।

‘उद्यमी बनौं देशलाई सघाऔं, हटेर होइन डटेर लागौं’ भन्ने नारासहित ललितपुरको हेरिटेज भेन्यु गार्डेनमा मेला हुँदैछ । प्रत्येक वर्ष आयोजना हुने मेलाको मुख्य आकर्षण के हो ? मेलाले कस्तो सन्देश दिन खोजेको छ ? महिलालाई उद्यममा लाग्न कस्तो हौसला र प्रेरणा दिन खोजेको छ ? अन्तर्राष्ट्रिय बजारमा महिला उद्यमीलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ ? साउथ एसियामा महिला उद्यमीको अवस्था र चुनौतीसँगै सम्भावना कस्तो छ ? यी लगायत यस्तै विविध विषय र सबालमा महासंघका पदाधिकारीसँग नागरिकले गरेको कुराकानी :

महिलाले अरुको हात समाउने होइन, आफैं अघि बढ्ने हो
शोभा ज्ञवाली 
तृतीय उपाध्यक्ष 

नेपालको भौगोलिक अवस्थाअनुसार महिलाले के कस्ता उद्यम गर्न सक्ने स्थिति छ । यस विषयमा महिला उद्यमी सचेत हुन जरुरी छ। तराई, पहाड र हिमाली क्षेत्रका महिला उद्यमीले भौगलिक वातावरण अनुसार उद्यमशीलता विकास गर्नु आजको आवश्यकता हो । परम्परागत उत्पादनभन्दा पनि यसलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री उत्पादन र व्यवस्थापन गर्न सके नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा सहजै निर्यात हुन्छ । यसका लागि मुख्य विषय सरकारले समय सापेक्ष नीति नियम बनाएको छ, छैन भन्ने हो । राम्रो नीति भए हरेक महिला उद्यमीलाई यो क्षेत्रमा आकर्षित गर्नेछ। 

महिलाले सुरक्षित उद्यम गर्ने वातावरण हुनुपर्छ। विद्यालय तहदेखि नै उद्यमी कसरी बन्ने भन्ने कुरा पाठ्यक्रममा राख्न जरुरी छ। विद्यालय तहबाट उद्यमका विषयमा अध्ययन अध्यापन गरियो भने जुनुसकै युवापुस्ता सजिलै उद्यमी बन्न सक्छन् । यसका लागि कक्षा ८ देखिनै उद्यमी बन्ने विषय समेटनु पर्छ। 

शिक्षा नै उद्यमशीलताको पहिलो आधार हो । यस्तै, सक्षम नारी हुनका लागि महिला उत्थानको विषयमा काम गर्ने हो । महिलाले केही गर्नु छ भने हटेर होइन डटेर गर्नुपर्छ । तर उद्यमशीलताको नाममा ट्याक्स छल्न पाइँदैन । जब देश सक्षम हुन्छ, स्वाभाविक रुपमा देशका नागरिक पनि सक्षम हुन्छन्।  

महिला उद्यमशीलताभित्र सशक्तीकरण अर्को पाटो हो । यसका लागि विभिन्न परियोजना र योजना आवश्यक छ । ठाउँ अनुसार तालिमको व्यवस्था हुनुपर्छ । उत्पादन  गरेर मात्रै सामानले बजार पाउँदैन । यसका लागि गुणस्तरीय उत्पादन हुनुपर्छ । उत्पादनलाई ब्रान्डिङ गर्नका लागि नारा चाहिन्छ, जसले बजारमा उत्पादनलाई सजिलै चिनाउन सकोस् । यस विषयतर्फ अबका महिला उद्यमीले सोच्नु पर्छ । सामानको प्याकेजिङ, लेबल र गुणस्तरले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव पार्छ । यस विषयमा महिला उद्यमी महासंघले ग्रामीण तहमा कार्यशाला गर्दै आएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लानेछौं। 

महिला उद्यमीलाई प्रोत्साहन गर्न व्यावसायिक शिक्षामा जोड दिनु पर्छ ।  चिकित्सक, इन्जिनियर मात्रै होइन । हामीले आफ्नै नाममा कम्पनी दर्ता गरेर उद्यम गर्ने शिक्षा लिनु र दिनुपर्छ। 

सक्षम नारीले आफू मात्रै होइन, एउटा गाउँ बनाउनु पर्छ। महिला उद्यमीको पंक्तिमा चिनाउने सकारात्मक प्रतिस्पर्धा आजको आवश्यकता हो। यसका लागि आइटी ट्रेनिङ, कानुन जस्ता विषयमा महिला उदाहरणीय हुनुपर्छ। 

महिलाले अरुको हात समाउने होइन । सपना देख्ने हो । कल्पना गर्दै यसको पछि लाग्ने हो । लिडरसिप लिने हो । महिलाले महिला कोटाबाट मात्रै होइन खुल्ला क्षेत्रबाट नेतृत्व लिन सक्ने समाजको परिकल्पना गर्नुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, सुशीला कार्की,  बेनेजिर भुट्टो जस्ता उदाहरणीय महिलाको संख्या थप्नु पर्छ । सकारात्मक सोच राख्नुपर्छ । म गर्न सक्छु भनेर प्रमाणित गरेर देखाउनु आजको आवश्यकता हो। 

नयाँ सरकारले सातैवटै प्रदेशमा उद्योग कलकारखाना स्थापना गरेर खाडी मुलुकमा जाने युवा पुस्तालाई रोक्नु पर्छ । कृषि, पर्यटन र उद्योगलाई सरकारले प्राथमिकतामा राख्ने हो भने महिला उद्यम महासंघका दिदीबहिनीले नयाँ अवसर पाउनेछन् ।
सरकारसँग हामीले महिला उद्यमिको लागि हरेकपटक ‘महिला कला ग्राम’को विषयमा ध्यानाकर्षण गराउँदै आएका छौं । यस विषयमा नयाँ सरकारको ध्यान जान सक्नु पर्छ। 

विभिन्न संस्थासँगको सहकार्यमा तालिम
हजुरी विष्ट 

कोषाध्यक्ष 
महिला उद्यमी महासंघले ग्रामीण क्षेत्रका महिला उद्यमीदेखि काठमाडौंका उद्यमी महिलाको कला, सीप र कुशलताको प्रवद्र्धन गर्छ । महासंघले विभिन्न संस्थासँग सहकार्य गरेर महिलालाई उद्यमी बनाउनेतर्फ योजना तथा परियोजना बनाएको हुन्छ । यसले नेपालको पूर्व मेचीदेखि परिश्चम महाकालीसम्मका महिलाको सीप, कला, क्षमता र कुशलताको प्रवद्र्धन गर्छ । हामीले यसैअनुरुप विभिन्न एनजिओ आइएनजिओसँग सहकार्य गरिरहेका छौं।

महासंघलाई पनि व्यवस्थित ढंगले सञ्चालन गरिरहेका छौं । विशेष गरी ग्रामीण महिलाको आर्थिक सुधार र वृद्धिको लागि कुनै न कुनै रुपमा प्रोजेक्ट सञ्चालन गरिरहेका छौं। 

नेपाल सरकारबाट सहयोग लिने गरेका छौं । हामीले वार्षिक रुपमा कार्यसमितिका सदस्यबाट पाँच हजार रुपैयाँका दरले उठाउने गरेका छौं । यस्तै, महासंघको ३० वटा जिल्लाबाट वार्षिक रुपमा दुई हजारका दरले आर्थिक संकलन गर्ने गरका छौं । 
ग्रामीण महिलाको आर्थिक उत्थानका लागि नै हो उक्त रकम । अब हामी सातवटै प्रदेशको जिल्लामा शाखा खोल्ने तयारीमा छौं।

आर्थिक पाटो सबैभन्दा चुनौतीपूर्ण छ । तर, योजना र व्यवस्थापन भयो भने कुनै समस्या आउँदैन । यसकारण हामी तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी मेलामा आइपुगेका छौं । नेपाली दिदीबहिनीको आत्मविश्वास र मेहनतका कारण आज अन्तर्राष्ट्रिय मेला आयोजना गरिरहेका छौं। 

महिला उद्यमीको प्रवद्र्धनका लागि आइएलओ, सिआइपिई संस्थाहरुले हाम्रो संस्थालाई सहयोग गरिरहेका छन् । उनीहरुले विशेष गरी महिलालाई तालिम दिने गरेका छन् । यस्तै फिन्ल्यान्डको एफसिए जस्ता संस्थाले हामीलाई आर्थिक सहयोग गरिहेको छ। 

महिलाको आर्थिक अभिवृद्धिका लागि नै काम गर्ने हो । मेला महिला उद्यमीको लागि पहिलो व्यावसायिक बजार हो । यही बजारले महिलालाई थप हौसला, प्रोत्साहन र उत्साह थप्छ । मेलाले आन्तरिक बजार र बाह्य मुलुकसँगको व्यवसायमा थप जोड दिन्छ । यसैले गर्दा आज नेपालको महिलाले उत्पादन गरेका मैनबत्ती, हस्तकलाका सामानको युरोप, अमेरिकामा माग रहेको पाइन्छ। 

म आफैंले हजुरी खाद्य उद्योग सञ्चालन गरेको २५ वर्ष भइसकेको छ । सुरुको मल्टिविन बहुउद्देस्यीय सहकारी संघबाट किचन रेसिपी ब्रान्डको अचार बजारमा पठाएको थिएँ । अहिले यसको बजार काठमाडौं लगायत सहरमा छँदैछ । यस्तै १७ वर्षदेखि नवरस अचार बिक्र गरिरहेको छु ।  पुल्चोकमा अचार घर भन्ने नै छ । 

मुख्य चुनौती आर्थिक पक्ष
सुनिता वैद्य
सचिव

हाम्रो समाजले अझै पुरानो मानसिकताबाट छुटकारा पाउन सकेको छैन । महिलाहरु खुलेर उद्यमी बन्न नस्कनुको कारण यही हो । किनभने, महिलासँग आर्थिक पाटो कमजोर छ । आफ्नो हातमा आर्थिक स्रोत नभएका कारण महिला उद्यमीको पहिलो समस्या भनेको आर्थिक नै हो। 

अहिले हरेक उद्यममा प्रतिस्पर्धा छ । प्रतिस्पर्धाको समयमा आर्थिक पाटो कमजोर हुनेबित्तिकै महिला उद्यमी अघि बढ्न सक्दैनन्। उदाहरणका लागि उपत्यका बाहिरबाट काठमाडौंको अन्तर्राष्ट्रिय मेलामा आउन समेत धेरै उद्यमीलाई समस्या छ । आफ्नो समूह, संस्था र उद्योगले उत्पादन गरेको सामग्री समेत मेलामा ल्याउन कठिन छ । किनभने आर्थिक अभाव छ । यसका लागि स्थानीय सरकारले जोड दिनुपर्छ । स्थानीय सरकारले यस विषयमा ध्यान सक्यो भने हाम्रा दिदीबहिनीसँग आफूसँग भएको कला, सीपको प्रयोग गरेर आफ्नो खुट्टामा उभिन सक्ने खुबी छ । 
हामीले दूरदराजमा रहेका महिला उद्यमीको कला, लगाव र क्षमता प्रवद्र्धनका लागि विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय महिलाी उद्यम मेला आयोजना गर्दै आएका छौं । यस्ले यस्ता सामान्य महिलाको असामान्य कला र उत्पादनको बजारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्छ । अन्तर्राष्ट्रिय मेलाकै कारण नेपालको उत्पादन फिनल्यान्डसम्म पुगेको छ।  

म आफैंले सञ्चालन गरेको क्यान्डल एन्ड क्राफ्ट १९ वर्ष भयो । यसले जापान र फिनल्यान्डमा गुणस्तरीय मैनबत्ती निर्यात गर्ने गरेको छ। 

यस्तै, लाजिम्पाट उत्तरढोकामा सुनिताज इन्टरपाइजेज प्रालि बुटिक ७ वर्षदेखि सञ्चालन गरिरहेको छु । जस्ले मलाई साउथ एसियामा अर्को परिचय दिएको छ । उद्यम भनेको आफ्नो क्षमता, सीप र कलाको आधारमा गर्ने हो, जसले आफूलाई समाजमा फरक परिचय दिन्छ । यही नै नेपालको महिला उद्यमीको परिचय हो । हामी आर्थिक समृद्धितिर लाग्नुपर्छ । आफूसँग भएको आर्थिक पहुँचका आधार लगानी गर्ने र सहकार्य गर्ने योजना नै महिला उद्यमी बन्ने सफल सूत्र हो।

घरेलु तथा साना उद्योगमा सीमित 
महालक्ष्मी श्रेष्ठ
कार्यकारी सदस्य 

हाम्रो समाजमा राजनीतिक रुपमा आमूल परिवर्तन आए पनि महिलालाई हेर्ने दृष्टिकोण पूर्ण रुपमा परिवर्तन भएको छैन । अघिल्लो पुस्ताको महिलाको सोचमा समयसापेक्ष परिवर्तन आउन सकेको छैन । यसको पछाडि हाम्रै समाजले बनाएको सामाजिक बन्धन र परिधिको हात छ। 

नेपाली महिला ठूलो उद्यमी नभएर घरेलु तथा साना उद्योगमा सीमित रहेको पाइन्छ । यसका लागि सरकारले उद्योग सम्बन्धी नीति बनाउँदा हाम्रो अवस्था हेर्नु जरुरी छ।   

ग्रामीण क्षेत्रमा महिलाहरु ऋा–आफ्नै ढंगले व्यवसाय गरिरहेका छन्। उहाँहरुले धेरै सिक्नु पर्नेछ । गाउँमा बस्नेले मात्रै सिक्नुपर्छ भन्न खोजेको भने होइन । महिला उद्यमीलाई एक्सपोजर आवश्यक छ । सामान बनाउने क्षमता छ, तर बजार कहाँ छ भन्ने उनीहरुलाई थाहा छैन। 

विशेष, गरी आर्थिक समस्या छ । प्रविधिमा धेरै पछाडि छौं । बजार व्यवस्थापनको उत्तिकै समस्या छ । सरकारी नीतिका कारण पनि सामान्य महिलालाई व्यवसाय गर्न झन्झट छँदैछ । यसको निराकरण गर्नु आजको आवश्यकता हो। 

स्थानीय तहमा उत्पादित सामानको बजार छिमेकमा, समुदायमा, जिल्ला सदरमुकाम मात्रै होइन, केन्द्रीय राजधानी काठमाडौंमा बजार व्यवस्थापन गर्नुपर्छ । यसले ग्रामिण महिला उद्यमीलाई थप हौसला मिल्छ । तर, काठमाडौंसम्म सामान ल्याउन सक्ने अवस्था छैन । यो समस्याको समाधान कस्ले गर्ने ? यसकारण महासंघले यस विषयमा पैरवी गरिरहेको छ । हामीले यसैका लागि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको थालनी गरेका छौं।

ग्रामीण र विदेशी उद्यमी महिलाबीच बिटुबी 
दर्शना श्रेष्ठ
महासचिव

तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाले ग्रामीण महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवद्र्धन गर्ने हो । हाम्रो अर्गानिक तथा गुणस्तरीय उत्पादनले बजार पाउन सकेको छैन । यसका लागि एउटै छातामुनि महिला उद्यमीको कला, सीप र क्षमता प्रदर्शनीमा राखेका छौं। 

मेलामा हस्तकलाका सामान, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरमा बुन्ने सामान, हाते कागजका वस्तु, काठजन्य वस्तु, खानेकुराको परिकार, गरगहना, सजावटका सामग्री आकर्षणका रुपमा राखेका छौं। 

यसको आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नुका साथै प्रचारप्रसार, महिला उद्यमीकोे श्रम, सीप र लगानीको पहिचान गर्ने लक्ष्य हो। 

विगतको दाँजोमा यसपटक झन् फरक हुने अपेक्षा लिएको छु । हामीले विगतको कमी कमजोरीबाट सिक्दै यो मेलाको लागि ६ महिनादेखि तयारी गरेका छौं । यो ठूलो प्ल्याटफर्म हो । यहाँ महिला तथा बालबालिका विभागबाट १० जिल्ला र महासंघको तर्फबाट ३० वटा जिल्लालाई पनि समेटिएको छ । मेलामा अन्तर्राष्ट्रिय महिला उद्यमी र नेपाली महिला उद्यमीबीच बिटुबी मिटिङ समेत हुनेछ। 

मेलामा सार्क, युरोप लगायत देशबाट ५० जनाभन्दा बढी विदेशी आयातकर्ता आउने अपेक्षा राखिएको छ । मेलामा सहभागी हुने देशमा जर्मनी, चीन, भारत, बंगलादेश लगायत छन् । मेला करिब ५० हजारले अवलोकन गर्ने विश्वास लिएको छु।

प्रकाशित: ८ चैत्र २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App