अर्थ

३६ जना महिलाले सञ्चालन गरे सर्फ उद्योग

तनहुँको भिमाद नगरपालिका– ६ का ३६ जना महिलाले सामूहिकरूपमा सर्फ उद्योग सञ्चालन गरेका छन्। भिमादको मातृशिशु कल्याण आमा समूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सर्फ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन्।

महिलाले सामूहिकरूपमा सर्फ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भर उन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन्। २५ हजार रुपैयाँका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।

‘सुरुमा करिब २५ लाख रुपैयाँ लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ’, अध्यक्ष पौडेलले भनिन्, ‘३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ।’ विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति २५ हजार लगानी गरेसँगै गरपालिकाले सरफसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

उद्योगमा सातजनाले रोजगारी पाएका छन्। काठमाडौँबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्री वितरण गर्दै आइएको समूहका सचिव सीता सुवेदीले बताइन्।

‘आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हाैं’, उनले भनिन्, ‘भिमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सरफ उत्पादन गर्दै आएका छौँ। अहिले बजार पनि विस्तार गर्दै गएका छौँ।’ उनका अनुसार प्रतिकिलो दुई सय र तीन सय ५० गरी दुईथरीका सरफ उत्पादन हुँदै आएको छ।

दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकोमा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिइन्। ‘आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने योजना समूहको छ। घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भनिन्।

सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँट गर्ने गरिएको सचिव सुवेदीले बताइन्। स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यक पर्ने सरफ आयातमा कमी आएको उनको भनाइ छ। उत्पादित सरफलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले जानकारी दिइन्।

भिमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सर्फ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताए। उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सर्फ प्रयोग गर्दै आएका छन्। यहाँ उत्पादित सरफ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ। –रासस

प्रकाशित: २४ वैशाख २०८१ १२:३३ सोमबार

भिमाद नगरपालिका मातृशिशु कल्याण आमा समूह मातृशक्ति सरफ उद्योग सञ्चालन