अर्थ

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु

काठमाडौंमा बुधबारदेखि चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोको पहिलो दिन तीन सय बढी विद्युतीय सवारी साधनको र्‍याली निकालिएको थियो।

स्काइ टावरबाट सुरु भएको र्‍याली नयाँबानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट भृकुटीमण्डपमा आएर समापन भएको थियो। समापन समारोहमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जाक्षेत्रको विकास गर्न सरकारले निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए।

एक्स्पोले स्वदेशी लगानीकर्तालाई मात्र होइन, अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन र आउँदै गरेको लगानी सम्मेलनलाई समेत सार्थक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जाक्षेत्रको विकासमा सरकारले निजीक्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने बताए।

स्वदेशी र विदेशी लगानीकर्तालाई नेपालको ऊर्जाक्षेत्रमा लगानी आकर्षित गर्न एक्स्पो कोसेढुंगा सावित हुने उनले बताए। ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित सुरु भएको एक्स्पो काठमाडाैंको प्रदर्शनीस्थल भृकुटीमण्डपमा भइरहेको छ। एक्स्पोमा उच्चस्तरीय बिजनेस मिटिङहरू हुनेछन्। एक्स्पोमा अहिलेसम्म १२ बढी देशका १०० भन्दा धेरै स्टल राखिएका छन्।

प्रकाशित: १३ वैशाख २०८१ ०८:४८ बिहीबार

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था चौथो हिमालयन हाइड्रो एक्स्पो इप्पानका अध्यक्ष गणेश कार्की शक्तिबहादुर बस्नेत