अर्थ

पोखरा भिलेज रिसोर्टमा २५ करोड लगानी थप

पोखरा भिलेज रिसोर्ट अब चारतारे ‘लेभल’को बनेको छ। पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले सञ्चालन गर्दै आएको पोखरा भिलेज रिसोर्टलाई अपग्रेड गरेर चारतारे लेभलको बनाएका हुन्।  

जसका लागि उनले पछिल्लोपटक ७ तले नयाँ भवन थपेका छन्। जहाँ ४२ वटा कोठाहरु थपिएपछि अब पोखरा भिलेज रिसोर्ट एण्ड स्पामा कुल ६५ वटा कोठाहरु पुगेको रिसोर्टका सञ्चालक हरि शर्मा गैह्रेले जानकारी दिए।  

करिब २५ करोड रुपैयाँ लगानी थपेर सञ्चालनमा आएको पोखरा भिलेज रिसोर्ट एण्ड स्पामा हनिमून सुईट रुम, ईम्पेरियल सुईट रुमदेखि स्पेसल सुपर डिलक्स रुमसम्म रहेका छन्। त्यसबाहेक सुपर डिलक्स फ्यामिली रुम, स्ट्याण्डर्ड रुम पनि रहेको होटलका जनरल म्यानेजर लक्ष्मण खड्काले जानकारी दिए।

नव विवाहित जोडीहरु हनिमुन मनाउन पोखरा आउँदा बस्ने गन्तव्य बन्ने अपेक्षा गरिएको सञ्चालक हरि शर्मा गैह्रेले बताए। ‘हनिमून मनाउन पोखरा आउने जोडीका लागि लक्षित गरेर हनिमून सुईट रुम राखेका हौ,’ उनले भने। त्यस्तै पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटकलाई केन्द्रीत गरेर रिसोर्टले सुपर डिलक्स फ्यामिली रुम समेत राखेको उनले बताए।

रिसोर्टले रिसोर्ट परिसर भित्रै कफीसप र रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालको नजिक रहेको यस रिसोर्टको बाल्कोनीमा बसेर फेवाताल लगायतका प्राकृतिक छटाहरुको समेत दृश्यावलोकन गर्न सकिने उनले बताए।

यसैबीच रिसोर्टको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे। कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले पर्यटकीय राजधानी पोखरामा गुणस्तरीय पर्यटक भित्राउन पोखरा भिलेज रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘पर्यटकीय राजधानी घोषणा गरिएको छ, त्यसैले हामीले राजधानी स्तरकै सेवा र सुविधा दिन जरुरी छ। त्यसका लागि पोखरा भिलेज रिसोर्ट एण्ड स्पाजस्ता होटल तथा रिसोर्ट खुल्दै जानुपर्छ र सेवापनि गुणस्तर बनाउँदै जानुपर्छ।’

उद्घाटन कार्यक्रममा बोल्दै रिसोर्टका सञ्चालक गैह्रेले पोखरा भिलेज रिसोर्टलाई सेवा क्षेत्रको नमूना बनाउने संकल्प गरे। पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई ब्राण्डिङ र प्रचारप्रसार गर्न सकिएमा पोखरामा वार्षिक २० लाख पर्यटक भित्राउन सकिने बताए। 

प्रकाशित: ११ वैशाख २०८१ १७:३५ मंगलबार

पोखरा भिलेज रिसोर्ट