अर्थ

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।  

गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेलाको दोश्रो संस्करण हुन लागेको हो। तीन दिनसम्म जारी रहने मेला आयोजकले बताए। 

मेलामा बेरोजगारका लागि रोजगारीको अवसर सिर्जना गरिने आयोजकको भनाई छ। बेरोजगार र रोजगार दाताहरुलाई एकै थलोमा राखेर रोजगारी सिर्जना गर्न लागिएको मेलाका सूचना, प्रचार प्रसार उपसमितिका संयोजक अम्बिकाप्रसाद आचार्यले बताए। उनले भने, ‘बेरोजगारलाई रोजगार खोज्ने अनि रोजगार दातालाई कामदार खोज्ने साझा थलोका रुपमा विकास गर्दैछौं।’ 

मेलामा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमका विषयमा विद्यार्थी एवम् सरोकारवालाका लागि जानकारी सहितको परामर्शसमेत प्रदान गरिने उनले बताए। मेलामा उच्च शिक्षा अध्ययन र रोजगारी सृजना, उद्यमशिलता र रोजगारी विषयमा विज्ञहरुबाट स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक नीजि साझेदारी, उद्यमशिलता, रोजागारी र शिक्षा, आन्तरिक श्रम बजार अवसर र चुनौती, ब्यवसाय बिकास र लगानी वातावरण लगायतका विषयहरुमा टल्क शो कार्यक्रम आयोजना गरिने संयोजक आचार्यले जानकारी दिए। 

मेलामा शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइनेछ। मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण व्यावसाय, आइटी, मुद्रण, अटो मोवाइल लगायतका स्टल रहनेछन।  

मेलाबाट वृत्ति परामर्श सम्बन्धी सेवा प्रदान, सीप परीक्षण र प्रमाणीकरणबारे जानकारी गराउने, सिपमुलक तालिमका अवसरको जानकारी गराउने आयोजक संस्था पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित: १ वैशाख २०८१ १५:३४ शनिबार

पोखरा रोजगार मेला