अर्थ

मध्य तमोरको विद्युत् कोशी करिडोरमा जडान, केही दिनमै व्यावसायिक उत्पादन

ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई शुक्रबारबाट कोशी करिडोरको प्रसारण लाइनमा सफलतापूर्वक परीक्षण जडान गरिएको छ।

आयोजनाका प्रबन्धक डा. मणिराज पोखरेलले नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजनाको एउटा टर्वाइनबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जडान गरिएको जानकारी दिए।

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत् प्राधिकरणको टोली लिएर घिसिङ मध्य तमोर जलविद्युत् आयोजना परीक्षण प्रसारण र अवलोकनका लागि यहाँ आएका थिए।

अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुनेसमेत पोखरेलले बताए। परीक्षण जडानको सफलताले उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा व्यावसायिक जडान हुने पोखरेलले बताए।

आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द श्रेष्ठका अनुसार यससँगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना निर्माण पूरा भएको छ।

यससँगै अब ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने छ। ‘परीक्षण जडानसँगै मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ, अब केही दिनपछि पूर्णरुपले समाहित हुने छ’, श्रेष्ठले नयाँ वर्षसँगै जलविद्युत् क्षेत्रमा नयाँ खुसी पलाएको बताए।

आयोजनाबाट उत्पादन विद्युत् आयोजनाको स्विचयार्डदेखि करिब १२ किलोमिटर लामो मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुमा नेपाल विद्युत् प्राधिकरणको ढुंगेसाँघु सब–स्टेसनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो, तर कोशी करिडोरअन्तर्गत ढुंगेसाँघु सब–स्टेसनको तत्कालको क्षमता १३२ केभिए मात्र भएपछि मध्य तमोर जल विद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुर पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नुपरेको छ।

कोशी करिडोरअन्तर्गत ढुङ्गेसाँघुस्थित १३२ केभिए विद्युत् सबस्टेसन प्रसारण लाइनको पनि गत शनिबार सफल परीक्षण गरिसकिएको छ। फक्ताङ्लुङ गाउँपालिका १ सावादिन र मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको विद्युत् आयोजनाको फुङलिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ।  

आयोजनाको फुरुम्बुस्थित मित्लुङनजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिब ३ हजार ४ सय मिटर लामो सुरुङ मार्गमार्फत खोक्लिङको थुम्बाबेंसीमा विद्युत् गृह निर्माण गरिएको छ।

सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने गरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढेर ७३ मेगावाट पुगेको हो।

सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट विद्युत् क्षमता हुन पुगेको हो।

प्रकाशित: ३० चैत्र २०८० १७:११ शुक्रबार

नेपाल विद्युत् प्राधिकरण मध्य तमोर जलविद्युत् आयोजना कोशी करिडोर प्रसारण लाइन परीक्षण जडान