अर्थ

अन्नपूर्ण आधार शिविर जाने पर्यटक बढे

यस वर्ष अन्नपूर्ण आधार शिविर (एबिसी) घुम्न आउने पर्यटकको संख्या निकै बढेको छ। छोमरूङ अवस्थित अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का इन्चार्ज नेत्र शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अन्नपूर्ण आधार शिविर आउनेको संख्या बढिरहेको बताए।

‘गत वर्षको तुलनामा यस पटक निकै पर्यटक घुम्न आइरहेका छन्’, शर्माले भने, ‘यो संख्या पक्कै बढ्ने छ किनभने अहिले सिजनको सुरूकै समय हो।’

एक्यापको तथ्यांक अनुसार गत वर्ष (सन् २०२३) जनवरी १ देखि मार्च महिनासम्म चार हजार ४३ जना पर्यटक अन्नपूर्ण आधार शिविर गएका थिए।

सन् २०२४ मा भने पाँच हजार ३९४ जना पर्यटक एबिसी घुम्न आइसकेका छन्। गत वर्षको तुलनामा यस वर्ष एक हजार ३५० जना पर्यटक चैत पहिलो हप्तासम्म भित्रिसकेका छन्। जुन गत वर्षभन्दा २५ प्रतिशतले बढी हो।

चैत पहिलो हप्ताकै जस्तो प्रतिकूल मौसम रहे समथर भूभागमा पानी पर्ने र उच्च तथा हिमाली भेगमा हिउँ पर्ने क्रमले निरन्तरता पाउन सक्छ। ‘मौसम प्रतिकूल बन्दा पर्यटक घट्ने हुन् कि भन्ने लागेको हो तर चैत दोस्रो हप्ताको सुरुमै एक दिनमा १३२ जनासम्म पर्यटक छोमरूङ भित्रिसकेका छन्’, शर्माले भने, ‘समयको प्रतिकूलताका बाबजुद पनि यसरी पर्यटक भित्रिनु खुसीको कुरा हो।’

गत वर्ष मार्च महिनामा दैनिक १०० देखि ११० जनासम्म पर्यटक एबिसीका लागि भित्रिएको उल्लेख गर्दै इन्चार्ज शर्माले यस पटक भने प्रतिदिन झन्डै १५० को हाराहरीमा पर्यटक आइरहेको बताए।

यस्तै शर्माका अनुसार बिहीबार छोमरूङबाट १३२ जना पर्यटक एबिसीक्षेत्रमा भित्रिरहँदा, जोमसोममा ६९६ जना पर्यटक भित्रिसकेका छन्। पोथनाबाट मर्दी ट्रेकका लागि ९९ जना, सिमपानेबाट ३४ जना पर्यटक भित्रिएका छन्। यस्तै कागबेनीबाट अपर लोमाङ्थान जान १३ पर्यटकले अनुमति लिएका छन्।

नेपालको अन्नपूर्ण आधार शिविर पदयात्रा विश्वकै प्रसिद्ध पदयात्रा मध्ये एक हो। यसले पदयात्रीहरूलाई अन्नपूर्ण हिमालको फेदीसम्म लैजान्छ। यस पदयात्रामा पर्यटकले माछापुछ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविर गरी दुई ठूला चुचुराहरूको आधार शिविरसम्म पुर्‍याउँछ।

मनोरम पहाडी दृश्यहरू रमणीय धान खेतदेखि अल्पाइन घाँससम्मको परिदृश्य पर्यटकले देख्न सक्छन्। साथै गुरुङ र क्षेत्री समुदायको परम्परागत जीवनशैली र समृद्ध संस्कृतिको महसुस गर्न पाउँछन्। यस्तै पर्यटकले जंगलै जंगलले घेरिएको पदमार्गमा यात्रा गर्दा विभिन्न चरा र वन्यजन्तुहरू देख्न पाउँछन्।

विश्वमा ट्रेकिङ र पर्वतारोहणका लागि चर्चित नेपालको पर्यटन क्षेत्र बिस्तारै फराकिलो बन्दै गएको छ। कोभिडले थला परेको पर्यटन क्षेत्र कोभिडपछि भने उच्च पहाडी तथा हिमाली पदयात्रा, साहसिक पर्यटन, इकोटुरिजम, बोर्ड टुरिजम, खानपान टुरिजम, स्पोर्टस टुरिजम, बटरफ्लाई टुरिजम, फ्लावर टुरिजम, मसरुम टुरिजम, हनी हन्टिङ पर्यटन जस्ता क्षेत्रहरूमा विकास भइसकेको छ।

यस्तै विश्वका पर्यटकीय गन्तव्यहरू मध्ये चर्चित मुलुकको रूपमा नेपाललाई पनि लिइन्छ। यसले गर्दा पनि अन्नपूर्ण आधार शिविर जस्तो उच्च हिमाली क्षेत्रमा घुम्न जाने पर्यटकको संख्या बढ्दो क्रममा छ।

धार्मिक, सांस्कृतिक एवं प्रकृतिक रूपले महत्त्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशीला, पुजनीय बराह र यहाँबाट देखिने १०८ धारासहितका धार्मिकस्थलले पनि यस पदमार्गको गरिमा र महिमा वृद्धि गर्न मदत गरेको छ।

राष्ट्रिय गार्हस्थ्य उत्पादनको क्षेत्रमा पर्यटन क्षेत्रको करिब ११ प्रतिशत योगदान रहँदै आएको छ। पथ प्रदर्शक, हिमाल आरोहण, होटेल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ, पथ प्रदर्शक, हवाई उड्डयन, हस्तकला उद्योग, मूर्तिकला, पाराग्लाइडिङ, र्‍याफ्टिङ लगायतका व्यवसायहरू सबै पर्यटनसँग सम्बन्धित छ।  

प्रकाशित: २० चैत्र २०८० १०:३३ मंगलबार

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्नपूर्ण आधार शिविर जाने पर्यटक बढे